मोरङको बेलबारीमा एक महिने हलुका सवारी चालक तालिम


बेलबारी, १९ फागुन । मोरङको बेलबारीमा बेरोजगार युवाहरूलाई तालिमका माध्यमबाट रोजगार प्रवर्धन गर्ने अभिप्रायले एक महिने हलुका सवारी चालक तालिम सञ्चालन गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम MEDEPA अन्तरगत रहेर नगरपालिकाले आयोजना गरेको कार्यक्रमको एक कार्यक्रमबिच नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् ।

बेलबारी नगरपालिका वडा नं ९ डाँगी हाटको सभा हलमा आयोजित तालिमको उद्घाटन गर्दै नगरप्रमुख नगरप्रमुख सुवेदीले नगरपालिका बेरोजगार युवालाई स्वरोजगार सिर्जना गर्ने क्रममा रहेको बताउँदै तालिमलाई औपचारिकतामा मात्र सीमित नराखी सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । नगरप्रमुख सुवेदीले तालिम बेरोजगार युवाहरूलाई रोजगार सिर्जना गर्न ठूलो सहयोगी हुने आसासमेत गरे ।

उक्त कार्यक्रममा नगर प्रवक्ता योगेन्द्र सुवेदी, बेलबारी नगरपालिकाका वडा नं ९ का अध्यक्ष नगेन्द्र खड्का, खोटाङे ड्राइभिङ सेन्टरका प्रशिक्षक धर्मराज राई लगायतकाले तालिमको महत्त्वको बारेमा बोलेका थिए ।

एक महिनासम्म चल्ने तालिममा ३ महिला र १२ जना पुरुष गरेर १५ जना युवाको सहभागिता रहेको बेलबारी नगरपालिकाका उद्यम विकास सहजकर्ता रमेश अधिकारीले बताएका छन् ।

उक्त कार्यक्रममा वडा सदस्यहरू तिर्थराज ढकाल, गोपाल धिमाल, मनकुमारी उपरकोटी, हिरावती राजवंशी र वडा सचिव इन्दिरा भण्डारी लगायतको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण भने खोटाङे ड्राइभिङ सेन्टर इटहरीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्