राष्ट्रिय सभाका नव निर्वाचित सांसदको शपथ कार्यक्रम


काठमाडौँ, २१ फागुन । राष्ट्रिय सभामा नव निर्वाचित सांसदहरूले आज (शनिबार) शपथ लिएका छन् । संघीय संसद् सचिवालय सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई शपथ दिलाएका हुन् ।

१२ गते भएको राष्ट्रिय सभाका १९ सिटमा गठबन्धनबाट १८ जना र एमालेबाट एक जना विजयी भएका थिए ।
विजयी सांसदहरुमा एमालेबाट सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए भने कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए ।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन् । त्यस्तै माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की छन् । जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा रहेका छन् ।

नव निर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू पनि उपस्थित भएका थिए ।

शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ । चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्