मोरङको बेलबारीमा प्रथम तिर्थ स्मृति फुटबल कप २०७८ को उद्घाटन


बेलबारी, २१ फागुन । आफ्नो स्थानलाई देश विदेशमा चिनाउने उद्देश्यकासाथ बेलबारी नगरपालिका वडा नं ६ मा क्लबस्तरीय प्रथम तिर्थ स्मृति फुटबल कप २०७८ को उद्घाटन भएको छ । बोराबाँध यूथ क्लब बेलबारीको आयोजनामा सुरु भएको प्रतियोगिताको आज एक कार्यक्रमबिच मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष दीपेन्द्र धिमालले उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा बेलबारी नगरपालिका वडा नं ६ का अध्यक्ष उदयबहादुर राई, पूर्व खेलाडी डम्बर राई, स्वर्गीय खेलाडी तिर्थ राईका पिता जसबहादुर राई, सशस्त्र प्रहरी बल बाहुनीका बाहिनी पति ज्ञानबहादुर श्रेष्ठ, डाँगिहाट फुटबल क्लबका अध्यक्ष विक्रम वान्तवा राई, स्थानीय विरेन्द्र माविका सहायक प्रधानाध्यापक दिलकुमार राई लगायत विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बेलबारी नगरपालिका वडा नं ६ बोराबाँध स्कुल डाँडा खेल मैदानमा आयोजित बेलबारी नगरपालिका अन्तरक्लब फुटबल प्रतियोगितामा विभिन्न ८ वटा नगरका टिमले सहभागिता जनाउँदै छन् । प्रतियोगिताका विजयी टिमले ३० हजार नगदसहिद मेडल तथा प्रमाण पत्र तथा उपविजेता टिमले २० हजार नगदसहिद मेडल तथा प्रमाण पत्र पाउने खेल संयोजक विशाल राईले जानकारी दिएका छन् ।

क्लबका अध्यक्ष प्रज्वल राईको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोहको सञ्चालन भने पूर्व खेलाडीसमेत रहेका स्थानीय मिलन राईको रहेको थियो ।

नक्सलबारी फुटबल क्लब अघिल्लो चरणमा प्रवेश

प्रथम तिर्थ स्मृति फुटबल कपको शनिवार भएको उद्घाटन खेलमा भाउन्ने फुटबल क्लबलाई हराउँदै नक्सलबारी फुटबल क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ । भाउन्नेलाई शून्यका विरुद्ध १ गोलले पछि पार्दै नक्सलबारी फुटबल अघिल्लो चरणमा प्रवेश गरेको हो ।

विनागोल पहिलो हाफ सिद्धाए पनि प्रतियोगिताको दोस्रो हाफमा नक्सलबारी फुटबल क्लबका जर्सी नं १० का आनन्द राईले पहिलो गोल गरेको थिए । उनको यही गोल नै आफ्नो टिमलाई अघिल्लो चरणमा प्रवेश गर्ने सिँढी बन्न सफल भएको थियो ।

खेल प्रतिस्पर्धात्मक भए पनि कुनै गोल गर्न नसक्दा भाउन्नेले प्रतियोगिताबाट बाहिरिनु परेको थियो । आजको प्रतियोगितामा नक्सलबारी फुटबल क्लबका जर्सी नं ७ का खेलाडी अनुप मगर म्यान अफ द म्याच घोषित भए । आइतबारको खेल बेलबारी फुटबल क्लब र बेतना युनाइटेड क्लबबिच हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्