बलात्कार आरोप लागेका बानियाँको गुम्यो सांसद पद


काठमाडौँ, २२ फागुन । बलात्कारको आरोप लागेका सांसद मोहन बानियाँ सांसद पद गुमेको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनको निलम्बनको सूचना सुनाएसँगै उनको पद गुमको हो ।

सांसद बानियाँलाई बलात्कार आरोपमा प्रहरीले फागुन १६ गते नेपालगन्ज विमानस्थलबाट पक्राउ गरेको थियो । उनी काठमाडौँ जान लागिरहेका बेलामा पक्राउ परेका हुन् ।

जुम्लाकी एक जना शिक्षिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । नेपालगन्जको एउटा होटेलमा लगेर सांसद बानियाँले आफूलाई बलात्कार गरेको ती महिलाको आरोप रहेको छ ।

नेपालगन्जको होटेलमा बसेको समयमा सांसद बानियाँले आफूलाई पटक–पटक जबरजस्ती करणी गरेको दाबी गर्दै उनले प्रहरीमा उजुरीमा दिएकी थिइन् ।

प्रहरीमा बानियाँविरुद्ध बलात्कार आरोपमा जाहेरी भए पनि उनी लामो समयदेखि फरार रहेको प्रहरीले बताउँदै आएको थियो । पक्राउ परेका सांसद बानियाँ विरुद्ध अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पूर्व मन्त्रीसमेत रहेका बानियाँ नेकपा एमालेका सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्