नेपाल आइडलकी लक्ष्मीलाई गुरुकुल पाठशालाका ‘बालबालिका’को सहयोग


बेलबारी, २२ फागुन । मोरङको बेलबारी –३ मा अवस्थित गुरुकुल पाठशालाका बालबालिकाले गायिका लक्ष्मी पौडेललाई सफलताको शुभकामनाकासाथ आर्थिक सहयोग गरेका छन् ।

बेलबारी मोरङको प्रतिनिधित्व गर्दे नेपाल आइडल सिजन ४ को टप ६ मा पुग्न सफल लक्ष्मी पौडेललाई उक्त विद्यालयका बाल क्लबका छात्र छात्राले १ हजार भोट बराबरको आर्थिक सहयोग गरेका हुन् ।

स्वरकी धनी लक्ष्मीलाई नेपाल आइडलको फाइनलमा पुग्न शुभकामनाका साथ आफूहरूले टिफिन खर्चबाट कटौती गरेर आर्थिक सहयोग गरेको गुरुकुल विद्यालय बाल क्लबकी अध्यक्ष रोजिना बस्नेतले बताइन् ।

बालबालिकाले एक हजार भोट बराबरका लागि आवश्यक पर्ने रकम रु ५ हजार नगद सहयोग गरेका छन् । उक्त रकम लक्ष्मीका पिता रघुनाथ पौडेललाई विद्यालयमा हस्तान्तरण गरेका थिए । बालबालिकाहरूले दिएको रकम बुझ्दै पौडेलले सहयोगका लागि गुरुकुल बालबालिकालाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्