चौथौँ अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्ड कपको उपाधि दार्जेलिङलाई


मोरङ, २४ फागुन । चौथौँ अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्ड कप २०७८ को उपाधि मानेभन्ज्याङ फुटबल क्लब दार्जेलिङले चुमेको छ । आज भएको फाइनल खेलमा दार्जेलिङले त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो ।

सुनावर्सी नगरपालिका वडा नं २ मा रहेको श्री वीरेन्द्र सार्वजनिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेल पहिलो हाफमा दुवैतर्फबाट कुनै गोल हुन नसकी सिद्धाएको थियो । दोस्रो हाफको सुरुवातमै मानेभन्ज्याङका जर्सीका १६ नं खेलाडी राज राउतले पहिलो गोल गरेका थिए । उनले गरेको यो पहिलो गोल नै प्रतियोगिताको लागि निर्णायक गोल बन्न सफल भएको थियो ।

खेल प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको थियो । त्रिभुवन आर्मीको टिमले पटक पटक पाएको अवसर गुमाए पछि उपविजेतामै चित बुझाउनु परेको थियो । खचाखच भरिएको दर्शाकदिर्गाहबाट भएको हुटिङले खेलाडीलाई हौस्याए पनि आर्मीको तर्फबाट कुनै गोल हुन नसके पछि दर्शकलाई केही निराश पारिदिएको थियो । आर्मीका १ र मानेभन्ज्याङका ३ जना खेलाडीले प्रतियोगितामा पहेँलो कार्ड पाएका थिए ।

मानेभन्ज्याङ फुटबल क्लबका जर्सी नं १६ का खेलाडी राज राउत म्यान अफ द म्याच घोषित भए । विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सरकारका पूर्व रक्षा मन्त्री तथा सांसद मिनेन्द्र रिजालले नगद, शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । विजेताले टिमले रु.५ लाख ११ हजार र उपविजेताले २ लाख ५१ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

मानेभन्ज्याङका समीर प्रधान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले रु.२१ हजार नगद पुरस्कार प्राप्त गरे । आर्मीका खेलाडी टेक बहादुर बुढाथोकी सर्वाधिक गोलकर्ता घोषित भए । उनले नगद पुरस्कार रु.१६ हजार प्राप्त गरेका छन् । मानेभन्ज्याङका उर्गेन मिक्सो शेर्पा प्रतियोगिताको उत्कृष्ट गोलकिपर र आर्मीका खेलाडी योद्धा शाही उत्कृष्ट डिफेन्डर घोषित भए । दुवैले रु.१६ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपाल, भारत तथा भुटानका गरेर विभिन्न आठ वटा टिमले सहभागिता जनाएका थिए । फाइनल खेलको औपचारिक कार्यक्रममा सुनवर्सी गाउँपालिकाका उपप्रमुख मन्जुकुमारी राई, प्रदेश सांसद लीला वल्लभ घिमिरे, नेपाली काँग्रेस जिल्ला सभापति डिकबहादुर लिम्बू, नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, काँग्रेस प्रदेश नं १ का महामन्त्री एवम् उर्लाबारी नगरप्रमुख खड्ग फागो, मोरङ जिल्ला खेलकुद सङ्घका अध्यक्ष दीपेन्द्र धिमाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता चलिरहेको बेलामा दर्शकले ‘स्टप पुटिन, स्टप वार’ लेखिएका ब्यानर देखाएर युक्रेनमाथि भइरहेको आक्रमणको साङ्केतिक रूपमा विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्