आगो नियन्त्रणमा नआए पछि डढेलोका कारण सोलुखुम्बुको नाक्चुङ बस्ती जोखिममा


मोरङ, ३५ फागुन । आगो नियन्त्रणमा आउन नसके पछि डढेलोका कारण सोलुखुम्बुको नाक्चुङ बस्ती जोखिममा परेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हाम गाउँपालिका वडा नं २ मा पर्ने हरियाली सामुदायिक वनमा आइतवार रातीदेखि लागेको डढेलो निभाउन गरिएका प्रयासहरू असफल भए पछि बस्ती नै जोखिममा परेको हो ।

डढेलोका कारण नाक्चुङका १३ घर परिवार जोखिममा परेको वडाध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिएका छन् । वडा अध्यक्ष शेर्पाले स्थानीयवासीले आगोलाई नियन्त्रणमा लिन कठिन भएपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरिएको तर यसले पनि आगो नियन्त्रणमा नआएको बताउँछन् ।

अग्नि नियन्त्रक सिम्रिक एयरको हेलिकोप्टरले दुई दिनदेखि आगो नियन्त्रणमा लिने प्रयास जारी राखेको भए पनि सफल नभएको बताइएको छ ।

आगोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भए पनि के–कति क्षति भयो यकिन गर्न कठिन भएको बताइएको छ ।
उता गाउँपालिकाले पनि डढेलो नियन्त्रणका लागि सबै संयन्त्र प्रयोग गरिरहेको तर ती प्रयासहरू पनि सफल हुन नसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्