गठबन्धनबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै रहने जनमोर्चाको निर्णय


मोरङ, २६ फागुन । संसदबाट एमसिसी अनुमोदन भए पछि असन्तुष्टि जनाउँदै पाँच दलीय गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चाले बुधवार एक विज्ञप्ति निकाल्दै यस्तो जानकारी गराएको हो ।

जनमोर्चाका महासचिव मनोज भट्टद्वारा जारी गरिएको विज्ञप्तिमा प्रदेश र केन्द्रीय सरकारलाई दिएको समर्थन भने कायम नै रहने बताइएको छ ।

देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने खतरा रहेको भन्दै सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग भइसकेपछि सरकारलाई दिएको समर्थनका विषयमा कुन प्रकारको नीति अपनाउने भन्ने सवालमा विचार गर्नुपर्ने आवश्यकता छ । वर्तमान सरकारको निर्माण ओलीले लादेको प्रतिगमनविरुद्धको सङ्घर्षको सफलताको परिणाम हो । अहिले पनि प्रतिगमनविरुद्धको सङ्घर्षको आवश्यकता र औचित्य कायमै छ ।’

साथै जनमोर्चाले एमाले र राजावादीसँग कुनै पनि हिसाबमा चुनावी तालमेल नहुने कुरा विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्