जापानद्वारा नेपाललाई दुई अर्ब सात करोड अनुदान


काठमाडौँ, २६ फागुन । जापान सरकारले नेपाललाई दुई अर्ब सात करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश नं १ को राजधानी विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाललाई दुई अर्ब सात करोड अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आज समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै आयोजना कार्यान्वयनका लागि अर्को अनुदान सम्झौतामा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

यो रकम विराटनगर सहरको खानेपानी सेवा विस्तारमा खर्च हुने छ । खाने पानी क्षेत्रलाई फराकिलो बनाउँदै यो सुविधाको पुनः निर्माण र विस्तार गर्ने उद्देश्य राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्