मोटरसाइकल चोरीमा संलग्न भारतीय नागरिकसहित झापाबाट ६ जना पक्राउ


झापा, २७ फागुन । झापा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेका १ जना भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–७ का २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराव, २२ वर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका–१ का ३० वर्षीय बिर्ख लिम्बु र भारत किसनगंजका १९ वर्षीय महम्मद समिम रहेका छन् ।

सवारी धनीहरूको सवारीसाधन हराएको भनी दिएको लिखित निवेदनका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले चोरी गर्ने व्यक्तिहरूको सूक्ष्म रूपले निगरानी गरिरहेको थियो । यही क्रममा प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा निजलाई पक्राउ गरिएको र पक्राउ परेकी अभियुक्त शहनीकै बयानका आधारमा चोरीमा संलग्न अन्य ५ जनालाईसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न समयमा विभिन्न स्थानबाट चोरी गरेका ७ थान मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाका सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्