निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचनका लागि खर्चको सीमा निर्धारण


मोरङ, २७ फागुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारका लागि निर्वाचन खर्च सीमा निर्धारण गरेको छ । आयोगले आज (शुक्रवार) यो सीमा निर्धारण गरेको हो ।

आयोगले दलका प्रतिनिधिसँग छलफल गरेरै निर्वाचन खर्चका लागि सीमा निर्धारणबारे जानकारी गराएको छ । निर्वाचन आयोगले तोकेको अधिकतम खर्च सीमाअनुसार महानगरपालिकाको प्रमुख÷उपप्रमुखका उम्मेदवारको अधिकतम खर्च सीमा ७ लाख ५० हजार निर्धारण गरिएको छ भने उपमहानगरपालिकाको प्रमुख÷उपप्रमुख उठ्ने उम्मेदवारको अधिकतम ५ लाख ५० हजार खर्च सीमा निर्धारण गरेको छ ।

त्यस्तै, आयोगले नगरपालिकाको प्रमुख÷उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार र गाउँपालिका प्रमुख÷उपप्रमुखका उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने बताएको छ ।

त्यस्तै, महानगरपालिकाअन्तर्गत वडाध्यक्ष उम्मेदवारले बढीमा तीन लाख, उपमहानगरपालिकाको वडाध्यक्षले २ लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षले दुई लाख र गाउँपालिकाको वडाध्यक्ष उम्मेदवारलाई एक लाख ५० हजार खर्च गर्न पाउने छन् । त्यस्तै वडा सदस्यको हकमा पनि सीमा निर्धारण गरेको छ । जसमा वडा सदस्यहरूले तीन लाखदेखि एक लाख पचास हजार सम्म खर्च गर्न पाउने छन् ।

पैसाको खोलो बगाएर निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने राजनैतिक संस्कार मौलाइरहेको परिप्रेक्षमा आयोगद्वारा निर्धारण गरिएको खर्चको सीमा स्वागतयोग्य भए पनि अनुगमनको पाटो फितलो भएकोले यसलाई कार्यान्वयनमा ल्याउन भने चुनौती रहेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्