मोरङमा गायिका लक्ष्मी पौडेलको भव्य स्वागत


बेलबारी, २८ फागुन । नेपाल आइडल चौथो सिजनको फाइनलिष्टमा पुगेकी गायिका लक्ष्मी पौडेललाई मोरङमा भव्य स्वागत गरिएको छ । मोरङको प्रतिनिधित्व गर्दै आइडलको टप पाँचमा पुगेकी पौडेललाई गृह जिल्ला मोरङमा भव्य स्वागत गरिएको हो ।

बेलबारी जेसिसको नेतृत्वको टिम उनलाई स्वागत गर्न विराटनगर विमानस्थलमा पुगेको थियो । उनलाई लिन बेलबारी जेसिसका अध्यक्ष नभराज सुवेदी, बेलबारी जेसिसका इभिपि प्रशान्त निरौला, ड्रिमल्याण्ड फन पार्कका सञ्चालक विजय सुवेदी, सृजना घरका सञ्चालक विकास बुढाथोकी, युवा गायक सनम खतिवडा लगायतको टिम विराटनगर पुगेको थियो । साथै उक्त टोलीका साथमा लक्ष्मीको परिवार, साथीभाइ, आफन्त तथा शुभचिन्तकहरू पनि विमानस्थल पुगेका थिए । विराटनगरदेखि बेलबारीसम्म नै र्यालीको आयोजना गरिएको थियो ।

विराटनगरबाट सुरु भएको उनको स्वागत र्याली दुहबी, इटहरी, गछिया, विराटचोक हुँदै बेलबारीमा आएर टुङ्गिएको थियो । उनलाई बेलबारी जेसिस, विराटनगर जेसिस, दुहबी जेसिस, इटहरी जेसिस, गछिया जेसिस, इन्द्रपुर जेसिस, बेलबारी –३ मा रहेको ड्रिम ल्याण्ड फनका सञ्चालक, तथा बोराबाँध यूथ क्लबको टिमले स्वागत गरेको थियो ।

मोरङकी चेली नेपाल आइडलको टप पाँचमा पुगेको खुसीमा स्थानीयले पनि उनलाई ठाउँ ठाउँमा रोकेर स्वागत गरेका थिए । ‘विजयी भव’ भनेर सफलताको शुभकामना दिएका थिए । बेलबारी –१ मा रहेको दुर्गा मन्दिरबाट निस्किएको र्यालीका साथ बेलबारीका विभिन्न स्थानमा पुगेर लक्ष्मीले आफै भोट मागेकी थिइन् ।

मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नं –३ सुन्दर टोलकी २० वर्षीय लक्ष्मी पौडेल यतिखेर मोरङको मात्र नभएर देशकै महिलाहरूको प्रतिनिधित्व गरिरहेकी छिन् । फाइनल प्रतियोगितामा पुगेका पाँच जनामध्ये उनी एक मात्र महिला प्रतियोगीको रूपमा रहेकी छिन् । प्रतियोगितामा एक जना महिला र अरू चार जना पुरुषबिचको प्रतिस्पर्धा रहने कारणले पनि धेरै मत उनलाई आउने आसा गरिएको छ । प्रचार प्रसारमा पनि उनलाई मोरङ मात्र नभएर नेपालकै एक मात्र महिला प्रतियोगी भनिएको छ ।

सानैदेखि गाउन थालेकी लक्ष्मीले यस अघि नै बेलबारी आइडलको फ्रष्ट रनर अपको उपाधि हाता पारेकी थिइन् । सुमधुर स्वरकी धनी लक्ष्मीलाई जिताउन पुरै परिवार र उनलाई माया गर्ने देश विदेशमा रहेका गीत सङ्गीत प्रेमी नेपालीहरूको सहयोग रहँदै आएको छ । उनको पुरै परिवार तथा उनलाई माया गर्नेहरू लक्ष्मीलाई जिताउन लागिपरिरहेका छन् । लक्ष्मीका पिता रघुनाथ पौडेलले आफ्नो अमूल्य मत दिएर यो स्थानमा पुर्‍याउन सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै फाइनल प्रतियोगिताको लागि पनि सहयोगको आसा लिएका छन् ।

बेलबारी जेसिसका अध्यक्ष नभराज सुवेदीले लक्ष्मी बेलबारीकी मात्र नभएर सिङ्गो देशकै प्रतिनिधित्व गर्ने बताउँदै उनलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँछन् । उनी भन्छन् लक्ष्मीलाई भोट गरेर उनको नेपाल आइडल बन्ने लक्ष पुरा गर्न सहयोगको अपेक्षा गर्दै भन्छन् ‘लक्ष्मीका कारणले आज बेलबारीको शिर उचो भएको छ । उनको विजय भनेको हामी सबैको विजय हो । सबैले लक्ष्मीलाई भोट दिनु होला ।’

 

प्रतिक्रिया दिनुहोस्