बेलबारीकी अभिभावकविहीन किशोरी मनीषाले पाइन् नयाँ घर


बेलबारी, २९ फागुन । मोरङको बेलबारीकी अभिभावकविहीन किशोरी मनीषा लिम्बूले नयाँ घर पाएकी छिन् । बेलबारी नगरपालिका वडा नं २ लालभित्ती रमिते टोलकी १७ वर्षीय किशोरी मनीषा लिम्बूको घर नेपाली काँग्रेस २ नं वडा समिति र तरुण दलको संयोजनमा निर्माण भएको हो ।

शनिवार बिहान एक कार्यक्रमको आयोजना गरेर लिम्बूलाई घर हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि मानबहादुर लिम्बुले मनीषालाई नवनिर्मित घरको चाबी हस्तान्तरण गरेका थिए ।

घर हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू रुक्मिणी धिमाल र रामहरि कोइराला, स्थानीय अग्रज ढाकाप्रसाद सेढाई, काँग्रेस मोरङ ३ नं क्षेत्रमा सचिव राजेश खत्री, ३ ‘ख’का सभापति जगतलाल चौधरी, बेलबारी नगर उपसभापति नीतु थापा कोइराला, वडा सभापति विचारी लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
अभिभावकविहीन मनीषा अरूको घरमा बसेर जीवन गुजारा गरिरहेकी थिइन् । नयाँ घर पाएपछि मनीषाले खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिइन् ।

घर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताबाट आर्थिक सहयोग तथा स्थानीय जनश्रमदान निर्माणमा सम्पन्न भएको २ नं वडा उपसभापति दीपक लिम्बूले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्