१ नं प्रदेशले चाँडै नाम पाउने मुख्यमन्त्री राईको दाबी


बेलबारी, ३० फागुन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश नं १ चाँडै नाम पाउने बताए । मोरङको बेलबारीमा नेकपा एकीकृत समाजवादीको नगर पार्टी कार्यालयको उद्घाटन तथा अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

प्रदेशको नाम दिने काममा संवाद सुरु भएकोले अब चाँडै यसले पूर्णता पाउने पनि विश्वास व्यक्त गरे ।

मुख्य मन्त्री राईले विकासले मात्र मानिस सुखी र धनी हुन नसक्ने बताउँदै अमेरिका तथा भारत विकसित देश भएर पनि त्यहाँका जनताहरू खुसी हुन नसकेको, लाखाँै मानिस दैनिक रूपमा मागेर जीविको पार्जन गरिरहेको सन्दर्भ उल्लेख गर्दै विकासले मात्र जनता खुसी हुन नसक्ने कुरालाई पुष्टि गरेको बताए । साथै जनतालाई योग्यता अनुसारको काम दिन सक्नु पर्छ । तब मात्र देशमा समृद्धि ल्याउन सकिने बताए ।

उनले उत्पादनका सामग्रीमा सबैको समान अधिकार हुनु पर्ने, शोषणको अन्त्य हुनु पर्नेमा जोड दिँदै शिक्षा तथा स्वास्थ्य लगायतका अत्यावश्यक चिजमा राज्यको नियन्त्रण हुन सकेमा मात्र देश समृद्ध बनाउन सकिने उनको धारणा रहेको छ ।

अघिल्लो सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा लिए पनि त्यसको आधार भने तयार गर्न नसकेको आरोप लगाए । उनले एमालेलाई भाइ काँग्रेसको संज्ञा दिँदै देश र जनताको लागि काम गर्न नसकेकै कारणले आफूहरूले विद्रोह गरेर नयाँ पार्टीको गठन गर्नु परेको बताए ।

मुख्य मन्त्री राईले तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितविपरित काम गरेको, सामूहिक निर्णय नगरी व्यक्तिगत रूपमा काम गरेकाले आफूहरूले बाध्य भएर पार्टी फुटाएको तर्क पेस गरेका थिए ।

बेलबारी –३ मा रहेको ड्रिम ल्याण्ड फन पार्कमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य हर्कमान तामाङ र महेश रेग्मी, केन्द्रीय सदस्य तथा प्रदेश सांसद सरिता खड्का लगायतका नेताले आ आफ्नो मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य एवम् यातायात तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरे, केन्द्रीय सदस्य तथा मोरङ सह इन्चार्ज चन्द्रबहादुर गुरुङ, मोरङ अध्यक्ष चन्द्रविर राई लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा पूर्व सांसद हर्कमान तामाङसहित बामपन्थी आन्दोलनमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न महानुभावलाई अभिनन्दन गरिएको थियो ।

आजै मुख्यमन्त्री राईले नेकपा एकीकृत समाजवादीको बेलबारी नगर पार्टी कार्यालयको उद्घाटन गरेका छन् । पूर्व पश्चिम लोक मार्गसँगै जोडिएको, बेलबारी –१ मा रहेको एन आइ सी एसिया बैङ्क रहेको भवको माथिल्लो तलामा पार्टीको नगर कार्यालय उद्घाटन भएको छ ।

साथै आजको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरे समाजवादीमा प्रवेश गरेका छन् ।
एकीकृत समाजवादीका नगर अध्यक्ष भूपाल बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर सचिव अर्जुन गिरीको रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्