तराई क्षेत्रमा धुमधामका साथ होली मनाइँदै


मोरङ, ४ चैत्र । आज रङ्गहरूको पर्व होली अर्थात् फागु पर्व । यो पर्व विशेष गरेर आज तराईमा धुमधामका साथ मनाइँदै छ । पहाडी क्षेत्रमा यो चाड हिजो मनाइएको थियो । पहाडी जिल्लामा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा यो पर्व मनाउने चलन छ ।

पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने गर्छ ।

असत्यमाथि सत्यको विजयको खुसीयालीमा यो चाड हर्षोल्लासका रूपमा मनाउने गरिन्छ । हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ ।
तराईका जिल्लामा आज रङ्ग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ ।

फगुवा खेल्ने अर्थात् फागु पूर्णिमामा तराई मधेसमा बेग्लै रौनक छ । सबै उमेर समूहका मानिसहरूमा पछिल्लो समय होलीको आकर्षण बढ्दै गरेको पाइन्छ । यो पर्वले सौहार्द, सद्भावना, शान्तिपूर्ण समाज र सहअस्तित्वको सन्देश दिन्छ ।

होली पर्वका नाममा विभिन्न खालका इनामेल, पेन्टहरूले अनुहार, कपाल र शरीर रङ्गाउने गरिएको पाइन्छ । यस्ता रङ्ग दल्नु स्वास्थ्यका लागि हानिकारक रहेकोले यस्ता रङबाट टाढै रहन स्वास्थ्य विज्ञको सल्लाह रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्