त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित


काठमाडौँ, ६ चैत । त्रिभुवन विश्वविद्यालयले यसै महिना लिन लागेको उपप्राध्यापक पदको परीक्षा स्थगित भएको छ । त्रिवि सेवा आयोगले सूचना निकालेर उपप्राध्यापक पदको उक्त लिखित परीक्षा अर्को सूचना नआए सम्मका लागि स्थगित भएको बताएको छ ।

आयोगको सूचनामा सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको बताइएको छ ।
परीक्षा यही चैत ८ गतेदेखि हुने तयारीमा थियो । तर सर्वोच्चको आदेशले गर्दा परीक्षा हुन सकेन ।

सेवा आयोगद्वारा जारी सूचनामा भनिएको छ ‘सर्वोच्च अदालतबाट विज्ञापन नं. ७०१–२०७७-७८ देखि ८२८–०७७-७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णय बमोजिम उक्त परीक्षा हाललाई स्थगित गरिएको छ ।’

त्रिवि आयोगले सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्