प्रधानमन्त्री देउवा दुई पक्षीय भेटवार्तामा व्यस्त


नयाँ दिल्ली, १९ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई पक्षीय भेटवार्तालाई तीव्रता दिएका छन् । १८ गते भारत प्रस्थान गरेका प्रधानमन्त्री देउवाले भारतमा रहेर विभिन्न महानुभावसँगको दुई पक्षीय भेटलाई निरन्तरता दिएका हुन् ।

हिजो शुक्रवार प्रधानमन्त्री देउवाको भारतीय विदेश मन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । उनीहरूबिच नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको आईटीसीमा भेटवार्ता भएको थियो ।
हिँजै प्रधानमन्त्री देउवाले भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृङ्गलासँग पनि भेटवार्ता गरेका छन् ।
विदेश मन्त्री जय शङ्करसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (बीजेपी) को केन्द्रीय कार्यालय पनि पुगेका थिए । त्यहाँ प्रधानमन्त्री देउवाले बीजेपी अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका थिए ।

आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुई पक्षीय वार्ता हुने र त्यहाँ संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै आजै प्रधानमन्त्री देउवाको दिउँसो साढे ४ बजे भारतका उपराष्ट्रपति एस बेंकैया नायडुसँग शिष्टाचार भेटवार्ताको तालिका रहेको छ । तीन दिने भ्रमण सकेर प्रधानमन्त्री देउवा आइतवार दिउँसो नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टी (बीजेपी) को केन्द्रीय कार्यालयमा पुगेर बीजेपी अध्यक्ष जेपी नड्डासँग गरेको भेटवार्तालाई कूटनैतिक विपरीत भएको टिक्का टिप्पणी भइरहेको छ ।

देशको प्रधानमन्त्रीको रूपमा भएको भ्रमणमा गएको बेलामा एउटा पार्टीको मुख्यालयमा गएर भेट गर्नुलाई कुटीनिविपरित भएको, यसले देशको अपमान गरेको विज्ञहरूको मत रहेको छ ।

देउवाका साथमा प्रथम पत्नी आरजु देउवा र भ्रमण दलमा सहभागी परराष्ट्र मन्त्री नारायण खड्का, कृषि मन्त्री महेन्द्र राय यादव, उर्जामन्त्री पम्फा भुषाल र स्वास्थ्य मन्त्री विरोध खतिवडा पनि त्यस अवसरमा सहभागी थिए ।

उता काँग्रेसले भने काँग्रेसको सभापतिसमेत रहेका देउवाले यो भ्रमणलाई भारतीय जनता पार्टीसँग सम्बन्ध सुधारको अवसरका रूपमा लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्