सुन्दररहैँचामा दोस्रो खोर्साने महोत्सव २०७८ लाग्दै


सुन्दरहरैँचा, १९ चैत । स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले सुन्दरहरैँचामा दोस्रो खोर्साने महोत्सव २०७८ लाग्ने भएको छ । आयोजकले आज सुन्दरहरैँचा १० खोर्सानेमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कुराको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सुन्दर खोर्साने युवा क्लबका अध्यक्ष काजिहाङ लिम्बूले स्थानीय कला र संस्कृतिको जगेर्ना गर्दै आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताए ।

चैत ३० देखि वैशाख ११ गते सम्म चल्ने मेलामा शिव परियार, प्रमोद खरेल, मेलिना राई, अशोक दर्जी लगायतका राष्ट्रिय कलाकारको प्रस्तुति रहने मेला संयोजक सोमराज गिरीले बताए । मेलालाई सुरक्षित वातावरण सिर्जना गर्न सिसी टिभी क्यामरा र सुरक्षकर्मीको निगरानी गरिने संयोजक गिरीले बताए । मेलामा विभिन्न खाद्य परिकारका साथै व्यापारिक स्टलहरू रहने आयोजकले जनाएको छ ।

विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएको क्लबले केही साल अघि पहिलो खोर्साने महोत्सव सञ्चालन गरेको थियो । तर कोरोनाका कारण मेलालाई निरन्तरता दिन नसके पनि पछिल्लो समय भने कोरोनाको महामारी साम्य भए पछि दोस्रो खोर्साने महोत्सवको तयारी गर्न लागिएको क्लबका सचिव मिलन तामाङ बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्