चुनाव कसरी जित्ने भन्दा पनि जनजीविकाको सवाललाई संवोधन कसरी गर्ने भन्ने कुरा गहन हो : काँग्रेस महामन्त्री शर्मा


बेलबारी, २० चैत । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन कसरी जित्ने भन्दा पनि जनताका जनजीविकाका सवाललाई कसरी संवोधन गर्ने भन्ने ठूलो कुरा रहेको बताएका छन् । नेपाली काँग्रेस बेलबारी नगर समितिले आयोजना गरेको ‘स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको भूमिका विषयक खुल्ला सभा‘लाई संवोधन गर्दै नेता शर्माले यस्तो धारणा व्यक्त गरेका हुन् ।

बेलबारी ३ पुरानो मालपोत लाइनमा आयोजित खुल्ला सभालाई संवोधन गर्दै महामन्त्री शर्माले अरू पाटीर्ले जनताका जनजीविकाका सवाललाई छाडेका हुनाले काँग्रेसले अबको निर्वाचनमा बहुमत ल्याई जनताका ती सवाललाई संवोधन गर्ने बताए ।

काँग्रेसका पूर्व प्रवक्तासमेत रहेका युवा नेता शर्माले भने ‘चुनाव कसले जित्ने भन्दा पनि जनताका जनजीविकाका सवाललाई कसरी संवोधन गर्ने भन्ने कुरा चाहिँ प्रमुख हो ।’

काँग्रेसले संवेगलाई नियन्त्रण राखेर अघि बढ्नु पर्ने बताउँदै मतपत्रको रङ्गसँगसमेत नेकपा एमाले तर्सिएको प्रसङ्ग जोड्दै नेता शर्माले मतपत्रको रङ्गमा डराउनुले एमालेको धरातल कमजोर रहेको बताए ।

काँग्रेसमा युवाहरूले अवसर पाउँदैनन्, यहाँ पाकाहरूको मात्र वर्चस्व छ भन्ने भनाइलाई खण्डन गर्दै उनले काँग्रेसमा पाका र युवाको संयुक्त नेतृत्व रहेको बताए । साथै उनले युवालाई बितेको पाँच वर्षको इतिहास अध्ययन गरेर मतदान गर्न आग्रह गरे ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता वसन्त भट्टराई, विराटनगर महानगरपालिकाका सभापति दीपक चापागाईँ, मोरङ निर्वाचन क्षेत्र नं ३ का सचिव राजेन्द्र बहादुर अधिकारी, महाधिवेशन प्रतिनिधि तथा महिला नेत्री मीना सेन्चुरी, महाधिवेशन प्रतिनिधि तथा गत निर्वाचनका मोरङ क्षेत्र नं ३ का उमेद्वार शुनिल कुमार शर्मा, प्रदेश सांसद एवम् महाधिवेशन प्रतिनिधि लोकप्रसाद सङ्ग्रौला लगायतकाले आ–आ धारणा राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताले आगामी निर्वाचनमा खबरदारी गर्नु पर्ने, झुटा नारा आश्वासन बाढ्नेतर्फबाट चनाखो हुनु पर्ने कुरामा जोड दिएका थिए । साथै गठबन्धनलाई बचाउँदै नेपाली काँग्रेसलाई अझ शक्तिशाली बनाउनु पर्नेमा उनीहरूको जोड रहेको थियो ।

नगर सभापति छत्र लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने बेलबारी नगर सचिव जनक पोखरेलको रहेको थियो । उक्त कार्यक्रममा देउवा पक्षीय नेताहरू मञ्चमा उपस्थित थिएन ।

 

प्रतिक्रिया दिनुहोस्