मोरङको बेलबारीमा दोस्रो भाउन्ने कप २०७८ हुने


बेलबारी, २० चैत । फुटबल खेललाई प्रवर्धन तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलबारीमा दोस्रो भाउन्ने कप २०७८ सञ्चालन हुने भएको छ । बेलबारी नगरपालिका वडा नं १० भाउन्नेमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले उक्त कुराको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा भाउन्ने यूथ क्लबका अध्यक्ष सन्तोष तामाङले फुटबल खेलको प्रवर्धन तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । अध्यक्ष तामाङले प्रतियोगिता २३ गते उद्घाटन भएर ३० गते समापन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

प्रतियोगितालाई सफल पार्न आर्थिक, स्वयंसेवक तथा व्यवस्थापन जस्ता विभिन्न उपसमितिको निर्माण गरिएको बताउँदै क्लबका सल्लाहकार अमिर मगरले अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने भन्ने उद्देश्यले युवा साथीहरू जोस र जाँगरका साथ प्रतियोगितालाई सफल पार्न लागिरहेको बताए ।

खेल संयोजक विक्रम तामाङले सामाजिक सेवामासमेत सक्रिय रहँदै आएको यूथ क्लबको आयोजनामा सञ्चालन हुन गइरहेको प्रतियोगितामा विभिन्न ८ वटा टिमको सहभागिता रहने बताउँछन् । प्रतियोगिताका विजेता टिमले १ लाख १ हजार नगदसहित शिल्ड, पदक तथा प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले ५० हजार नगदसहित शिल्ड, पदक तथा प्रमाण पत्र पाउने छन् । साथै हरेक दिनको प्रतियोगितामा म्यान अफ द म्याचको पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने पनि आयोजकले जनाएको छ ।

बेलबारी नगरपालिका सहयोगी संस्थाका रूपमा रहने यस प्रतियोगितामा देश तथा विदेशमा रहने भाउन्ने बासीको ठूलो सहयोग रहेको आर्थिक संयोजक ज्ञानु राई बताउँछन् ।
पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार मच्छिन्द्र क्लबका पूर्व क्याप्टेन मदन राईको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्