स्थानीयले चलाए ‘नो लालपुर्जा नो भोट’ अभियान


बेलबारी, २१ चैत । सुकुम्बासीका समस्यालाई चुनावी एजेण्डा मात्र बनाउने तर सत्तामा पुगे पछि ती सबै कुरा भुलेर सत्ता लिप्सामा मात्र रमाउने राजनीति पार्टीको यो नयाँ बानी भने होइन । नेपालका राजनैतिक पार्टीले सुकुम्बासी समस्यालाई पटक पटक भोट व्यांंकको रूपमा प्रयोग गर्दै आएका छन् ।

चुनावका बेलामा सम्झने तर सत्तामा पुगे पछि सुकुम्बासी समस्यालाई बिर्सिने क्रमले निरन्तरता पाए पछि स्थानीयले लालपुर्जा नदिनेलाई भोट नदिने अभियान सुरु गरेका छन् ।

पछिल्लो समय देशैभरि यो विषयमा चर्चा चलिरहेको बेलामा बेलबारी –२ लालभित्ती सिंहदेवी हाइटका युवाहरूले भने निर्वाचनलाई लक्षित गरेर यस्तो अभियान सुरु गरेका छन् । उनीहरू बिच बाटामै गेट बनाएर ‘नो लालपुर्जा नो भोट’ लेखिएको ब्यानर टाँगेर विरोधमा उत्रिएका हुन् ।

सुकुम्बासी समस्या यो अन्तिम हो, अर्को निर्वाचनमा यो समस्या नउठ्ने बताउने गरेका राजनैतिक पार्टीहरूले यसपालि पनि यही नारा र मुद्दा बनाउने देखे पछि स्थानीयले आजित भएर यसलाई अभियानकै रूपमा प्रस्तुत गरिरहेको बताएका छन् ।

यसपालिको निर्वाचनमा पनि यही नारा र उही आश्वासन बाढ्ने सम्भावना देखे पछि आफूहरूले बाध्य भएर यस्तो अभियान सुरु गरेको अभियानको संयोजन गरिरहेका स्थानीय लालपुर्जा प्राप्त अभियान समन्वय समितिका संयोजक दिनेश दाहाल बताउँछन् ।

स्थानीय युवाको सक्रियतामा सुरु भएको यो अभियानलाई समाजका प्रबुद्ध वर्गले पनि ऐकेबद्धता जनाएका छन् । युवाहरूले उठाएको माग जायज रहेकोले यो अभियानमा आफूहरूको पनि ऐकेवद्धता रहेको शिक्षकसमेत रहेका स्थानीय भगीरथ गिरी बताउँछन् । तर यो अभियान राजनीतिको आडमा कतै बिचमै तुहिने पो हो कि भन्ने डर पनि रहेको, तर यसलाई जसरी पनि निचोडमा पु¥याएर छाड्नु पर्ने उनको मत रहेको छ ।

सुकुना मावि सहायक प्रधानाध्यापकसमेत रहेका स्थानीय राजेन्द्र प्रसाद गिरीको पनि उस्तै मत रहेको छ । राजनैतिक पार्टीहरूले सुकुम्वासी समस्यालाई त्यति महत्त्व नदिएको तथ्यले देखाएको विचार व्यक्त गर्छन् ।

त्यस्तै स्थानीय दिलमाया तामाङ पुर्जा दिने भनेर आफूहरूलाई नेताहरूले बारम्बार ढाँट्दै आएको आरोप लगाउँछिन् । स्थानीय पार्वती पोखरेल आफूहरूले पटक पटक आश्वासन मात्र पाएको बताउँदै अब भने आश्वासनले मात्र नहुने, आफूहरूको माग संवोधन नभएर भोट नै बहिस्कारसमेत गर्ने बताउँछिन् ।

यहाँ उठाइएको माग सही भए पनि यो समूह पनि कतै पछि चुनावमा गोटी त बन्ने होइन भन्ने पनि स्थानीयको चिन्ता रहेको छ । छिमेकी नगरपालिका वडा नं १० का योगेश हुमागाईँ यस्तै शङ्का गर्छन् । उनी यसमा सबैको प्रतिविद्धताको खाँचो रहेको बताउँछन् ।

त्यसो त उनीहरूले यस विषयलाई टुङ्गोमा पु¥याउने गरी दिनेश दाहालको संयोजकत्वमा पर्शुराम अधिकारी, कुमार खत्री, सुमन उराव, सुरज ढकाल, देवराज पाण्डे र विक्रम उराव सदस्य रहेको सात सदस्यीय समन्वय समिति गठन गरेका छन् भने यस समितिलाई सल्लाह दिने गरी डिल्लीराम ढकाल, तीर्थबहादुर न्यौपाने, मनोज भण्डारी, उमेश दाहाल, सिताराम खड्का र दिनेश कुमार मोहोरा रहेको ६ सदस्सीय सल्लाहकार समितिको समेत गठन गरेका छन् ।

विभिन्न पार्टीहरूले लालपुर्जालाई पटक पटक चुनावको नारा बनाउँदै आइरहेको परिप्रेक्षमा स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा चालिएको यो अभियानलाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्