बेलबारी नगर अस्पतालको समुद्घाटन : ‘दन्त उपहार’ कार्यक्रमले फर्कियो ५३ नगरवासीको मुस्कान


बेलबारी, २२ चैत । बेलबारी नगरपालिकाको वडा नं. १ मा बेलबारी नगर अस्पतालको नव निर्मित भवन उद्घाटन भएको छ । मंगलबार पूर्व स्वास्थ्य मन्त्री तथा मोरङ क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकाल तथा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले संयुक्त रूपमा अस्पतालको समुद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बेलबारी नगरवासीलाई बधाई व्यक्त गर्दै अस्पताल निर्माणको लागि ३ कट्ठा जग्गा प्रदान गर्ने राजेन्द्र बहादुर केसी तथा उनका परिवारलाई सांसद ढकालले धन्यवाद प्रदान गरे । जग्गा दाता केसीलाई बेलबारी नगरपालिकाका प्रमुख सुवेदी र उपप्रमुख ढाका कुमारी पराजुलीले कदर पत्र प्रदान तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

केसीले पिता स्व. कृष्णबहादुर खत्री र माता स्व.मनकुमारी खत्रीको स्मृतिमा नगर अस्पताल निर्माणको लागि जग्गा प्रदान गरेका हुन । नगर प्रमुख सुवेदी र उपप्रमुख पराजुलीले जग्गा दातालाई धन्यवाद प्रदान गर्दै उपचारको लागि सर्वसाधारण जनताले चर्को मूल्य तिर्नु पर्ने बाध्यता न्यूनीकरण हुने बताएका छन् । नगर अस्पतालको निर्माणले स्थानीयलाई स्वास्थ्य उपचारमा राहत हुने कुरामा प्रमुख र उपप्रमुख दुवै विश्वस्त छन् । बेलबारीको सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइसकेको जनाउँदै स्वास्थ्य क्षेत्रको विकासमा कुनै कन्जुसाई नभएको उपप्रमुख पराजुलीले बताइन ।

सोही कार्यक्रममा २७ जना स्थानीयलाई दाँतको १० वर्षको ग्यारेन्टी कार्ड वितरण गरिएको थियो । बेलबारी नगरपालिकाको दाँत उपहार कार्यक्रम अन्तरगत निःशुल्क दाँत लगाइदिएर ग्यारेन्टी कार्ड वितरण गरेको हो । पूर्वाञ्चल डेण्टल हस्पिटल प्रा.लिसँगको साझेदारी सहयोगमा दाँत नभएका ५३ जना लाई निःशुल्क दाँत लगाइदिएको नगर प्रमुख सुवेदीले जनाए ।

पूर्वाञ्चल डेण्टल हस्पिटल प्रा.लिका प्रमुख केशव रिमालले सोस्तो लोकप्रियता र विज्ञापनको लागि नभएर पूर्ण सेवाको उद्देश्यबाट निःशुल्क दाँत लगाई दिएको बताए । ‘दन्त उपहार’ कार्यक्रमबाट निःशुल्क दाँत पाए पछि वृद्ध आमाबुवाहरूको मुहारमा खुशी छाएको थियो । दाँत नहुँदा खान देखी बोल्नसम्म समस्या हुने हुँदा निःशुल्क दाँत लगाउन पाए पछि ५३ जनाको मुस्कान फर्किएको छ ।

 

प्रतिक्रिया दिनुहोस्