बेलबारी र सुन्दरहरैँचाको सिमानामा मितेरी पुलको शिलान्यास   


मोरङ, २४ चैत । बेलबारी नगरपालिका वडा नं २ र सुन्दरहरैँचा नगरपालिका १० को सिमानामा पर्ने किस्ती खोलामा निर्माण हुन गइरहेको मितेरी पुलको शिलान्यास भएको छ । बेलबारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदी र सुन्दरहरैँचाका प्रमुख शिवप्रसाद ढकालले संयुक्त रूपमा उक्त पुलको शिलान्यास गरेका हुन् ।

सुन्दररहैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले पुल शिलान्यास कार्यक्रममा बोल्दै राजनीतिक सिमाङ्कनले अलग अलग भए पनि भौगोलिक रूपले दुवै पालिका एकै ठाउँमा भएकाले गर्दा दुवैतर्फका जनतामा सुमधुर सम्बन्ध रहेको बताउँदै विकास निर्माणका काममा पनि मिलेर काम गर्दा खुसी लागेको बताए ।

बेलबारी नगरपालिकाका प्रमुख सुवेदीले समन्वय र सह अस्तित्वका कुरालाई जोड दिँदै निर्माणाधीन पुलले दुवै पालिकाबिचको सम्बन्धमा थप सुमधुरता थप्ने बताए । साथै नगरप्रमुख सुवेदीले कामलाई गुणस्तरीय रूपले सम्पन्न हुनु पर्नेमा जोड दिँदै स्थानीयलाई पनि निरन्तर निगरानी गर्न अनुरोधसमेत गरे ।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङ, बेलबारी र सुन्दरहरैँचाका प्रमुख प्रशासकीय अधिकृतहरू क्रमशः गणेशराज कार्की र विनोद भट्टराई, बेलबारी वडा नं २ र सुन्दरहरैँचा वडा नं १० अध्यक्षहरू क्रमशः  घनश्याम गौतम र राजेन्द्रबहादुर थापा, सुन्दरहरैँचा नगरकार्यपालकिा सदस्य भक्त किरण राई, बेलबारीकी नगर कार्यपालिका सदस्य खिनमाया थापा लगायत सम्बन्धित वडाका वडा सदस्यहरूका साथै स्थानीय बाक्लो उपस्थिति रहेको थियो । टेण्डर आह्वान भएर ठेक्का सम्झौताको चरणमा रहेकोले अब चाँडै पुलको निर्माण कार्य सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्