लायन्स क्लब अफ इटहरी कृएटिभ लेडीले बनाइदियो विद्यालयलाई चमेना गृह


सुन्दरहरैँचा, २६ चैत । लायन्स क्लब अफ इटहरी कृएटिभ लेडि शाखाले सुन्दरहरैँमा ९ नं मा रहेको श्री राम आधारभूत विद्यालयमा चमेना गृहको निर्माण गरेर हस्तान्तरण गरेको छ । आज (शुक्रवार) सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले एक कार्यक्रमकाबिच कृएटिभ लेडीले निर्माण गरेको चमेना गृहको उद्घाटन गरेका छन् ।

प्रमुख अतिथि सुन्दररहैँचा नगरपालिकाका प्रमुख ढकालले सामाजिक संस्थासँग भएको शक्ति अरूभन्दा बलियो हुने बताउँदै आफू त्यही सामाजिक संस्थाकै कारण आजको यो अवस्थामा आइपुगेको बताए ।

नेतृत्व तथा व्यक्तित्व विकासमा सामाजिक संस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उनले राम्रो काम गरेकोमा कृएटिभ लेडिलाई धन्यवाद दिए । साथै नगरप्रमुख ढकालले यस्ता राम्रा काममा नगरपालिकाले सहयोग गर्ने बचनसमेत दिए ।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ A1 डिस्ट्रिक्ट गभर्नर लायन रेवत बहादुर कार्की, असाइन जोन चेयर पर्सन निर्मला चौधरी, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष योगराज कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिलराज श्रेष्ठ, लायन नागेश पोखरेल, श्रमिक महिला समूह बेलबारीका अध्यक्ष नितु थापा कोइराला, चाँदनी महिला समूहका अध्यक्ष देवी पौडेल, लायन्स क्लब अफ इन्द्रपुरका अध्यक्ष रोहित शाह लगायतको सहभागिता रहेको थियो । उक्त भवनको आजै विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

वर्ष २०२१–२२ का अध्यक्ष नीता शर्मा को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने स्मृति सापकोटा भट्टराईको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्