पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त


इस्लामावाद, २७ चैत । अविश्वासको प्रस्ताव पारित भएसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान पदमुक्त भएका छन् । शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका हुन् ।

इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पाकिस्तानका पहिलो प्रधानमन्त्री बनेका छन् । मतदानमा खानको विपक्षमा १७४ मत परेको थियो र प्रस्ताव बहुमतले पारित भएको थियो । नयाँ प्रधानमन्त्री चयनका लागि आज दिउँसो २ बजे संसद् बैठक बस्नेछ ।

६९ वर्षीय खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले खारेज गरिदिए पछि उनले तत्काल संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

तर सर्वोच्च अदालतले बिहीबार संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको ठहर गरेसँगै उनी थप सङ्कटमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्