सुरक्षा अधिकारीद्वारा मतदान स्थलको अनुगमनमा तीव्रता


मोरङ, २८ चैत । आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सुरक्षा अधिकारीले मोरङका मतदान स्थल र मतदान केन्द्रको अनुगमन तीव्र पारेका छन् । निर्वाचन सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको मतदान स्थलको अनुगमन र निरीक्षणलाई तीव्र पारिएको हो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रमा रहेकासहितका मतदान स्थलको अनुगमन गरेको हो । उक्त टोलीमा प्रमुख सेनानी अमृत थापा, नेपाल प्रहरीका प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धान प्रमुख एसपी बासु सिग्देल, इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का, सशस्त्र प्रहरी बल बिओपी रङ्गेलीका निरीक्षक कमलबहादुर अधिकारी लगायतका सुरक्षा अधिकारी खटिएका थिए ।

जिल्ला सुरक्षा समितिले एकै दिन आइतबार भारतसँगको खुला सीमा लगायतका कारण संवेदनशील मानिएका ३६ मतदान स्थलको निरीक्षण गरेको छ ।
आइतबार जहदा र धनपालथान गाउँपालिकामा रहेका सबै मतदान स्थलको अनुगमन गरिएको थियो ।

नेपाल प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जहदा र धनपालथान गाउँपालिका मतदान स्थल र विराटनगर महानगरपालिकाका दुई, कटहरी गाउँपालिकाको एक र रङ्गेली नगरपालिकाको आठ वटा मतदान स्थलको अनुगमन गरेको बताए छन् ।

एसपी कोइरालाले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरेर निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गराउन मतदान स्थलमा देखिएका समस्या समाधान गर्न अनुगमन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्