सुन्दरहैँचामा दोस्रो खोर्साने महोत्सव २०७८ को समुद्घाटन


सुन्दरहरैँचा, ३० चैत । आफ्नो गाउँको प्रचार प्रसार गर्दै आन्तरिक पर्यटनको प्रवर्धन गर्ने अभिप्रायले सुन्दरहरैँचामा दोस्रो खोर्साने महोत्सव २०७८ को उद्घाटन भएको छ । आज (बुधवार) एक कार्यक्रमकाबिच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले महोत्सवको उद्घाटन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शिवप्रसाद ढकालले कोरोनाका कारण लामो समयदेखि थलिएको व्यापार व्यावसायलाई माथि उठाउन यस्ता महोत्सव सहयोगी हुने आसा गरे । नगरप्रमुख ढकालले नगरपालिकाको तर्फबाट सहयोग रहने बताउँदै मेलामा शान्ति सुरक्षाको राम्रो व्यवस्था गर्न आग्रहसमेत गरे ।

उपप्रमुख धनमाया तामाङले महोत्सवले समग्र सुन्दरहरैँचाको प्रतिनिधित्व गर्ने हुँदा आयोजक टिमलाई मर्यादित तरिकाले मेला सम्पन्न गर्न आग्रह गरिन् ।

वडा नं १० अध्यक्ष राजेश थापाले यस्ता महोत्सवले आफ्नो ठाउँको परिचय दिने बताउँदै मेलामा पाल्ने सबै पाहुनालाई आफ्नो वडामा स्वागत गर्न पाउँदा खुसीसमेत व्यक्त गरे ।
आयोजक संस्थाका अध्यक्ष काजिहाङ लिम्बूले मेलामा सुरक्षाको राम्रो प्रबन्ध गरिएकाले ढुक्क भएर मेलाको रमाइला लिनआग्रह गरेका छन् ।

मेलाको समुद्घाटन समारोहमा सुन्दररहैँचा नगरपालिकाका कार्यपालिका सदस्यहरू तारा घिमिरे र उर्मिला शर्मा रिजाल, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमला लगायत, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

चैत ३० गते उद्घाटन भएको मेला वैशाख ११ गते सम्म जारी रहने, र मेलाभरि साङ्गीतिक कार्यक्रम तथा खाद्य लगायतका विभिन्न स्टल रहने खेल संयोजक सोमराज गिरीले जानकारी दिएका छन् ।

सुन्दर खोर्साने युवा क्लबका अध्यक्ष काजिहाङ लिम्बूको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन भने स्थानीय आनन्द बस्नेतको रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्