सिपिसिएसद्वारा बेलबारीमा आवधिक गृहको उद्घाटन


बेलबारी, १ वैशाख । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था सिपिसिएस इन्टरनेसनलले बेलबारीमा आवधिक गृहको सुरुवात गरेको छ । सडक बालक तथा विभिन्न कारणले परिवारविहीन बनेका बालबालिकाको उद्वारको लागि तयार पारिएको आवधिक गृहको आज एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो ।

बेलबारी २ लालभित्तीमा रहेको अर्किडसँको मुख्य कार्यालयसँगै रहेको आवधिक गृहको बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले उद्घाटन गरिन् ।

आवधिक गृहको उद्घाटन गर्दै प्रमुख अतिथि नगर उपप्रमुख पराजुलीले फेला परेका बालबालिकालाई उद्वार गर्ने संस्थाको खाँचो भइरहेको बेलामा शुभारम्भ भएको यस आवधिक गृहले ठूलो राहत पुग्ने बताइन् ।

संस्थाको उत्तरोत्तर प्रगतिको कामनासमेत गर्दै उपप्रमुख पराजुलीले यस अघि पनि राष्ट्रिय बाल अधिकार परिषद्को सहयोगमा बालबालिकाको उद्वार गरेको बताइन् ।

बेलबारी नगरपालिका –२ वडाका अध्यक्ष घनश्याम गौतमले पुण्य काम सुरुवात गरेकोमा सिपिसिएस संस्था तथा त्यसको स्थानीय नेतृत्वको टिमलाई धन्यवाद दिँदै संस्थालाई आफ्नो सधैँ सहयोग रहने प्रतिवद्धतासमेत जायर गरे ।

राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश नं १ का प्रमुख सुमन अधिकारीले सरकार सडक बालबालिका मुक्त घोषणाको चरणमा पुगेको बताए । दीर्घकालीन भन्दा पनि अल्पकालिक रूपमा जोखिममा रहेका बालबालिकालाई आवधिक गृहको प्रयोग गरिनु पर्न बताए । उनले सडक बालबालिका र अन्यबालकालिकालाई व्यवस्थापन गर्न केही कठिन भइरहेको बेलामा शुभारम्भ गरिएको यस आवधिक बाल गृहले ठूलो सहयोग पुग्ने बताए ।

उक्त कार्यक्रममा बाल हेल्प लाइन १०४ का पर्वत रायमाझी, अर्किड बेलबारीका अध्यक्ष आइतराज लिम्बू, बालबालिकामा प्रतिनिधि रेसम रामदाम, स्थानीय समाजसेवी डिल्लीबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

अर्किड बेलबारीका कार्यक्रम संयोजक रेवती तिवारीले कार्यक्रमको औचित्यको बारेमा प्रस्ट पारेका थिए । सिपिसिएसका अध्यक्ष विजय श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने सिपिसिएसका निर्देशक नवराज पोखरेलको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्