बेलबारीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन


बेलबारी, ८ वैशाख । स्थानीय निर्वाचन प्रयोजनका लागि बेलबारी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन भएको छ । आज (बिहिवार) बेलबारी वडा नं ३ प्रशासनिक भवनको मुनि तलामा निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको हो ।

निर्वाचन अधिकृत बालकृष्ण निरौला, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले संयुक्त रूपमा निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन गर्दै निर्वाचन अधिकृत बालकृष्ण निरौलाले निर्वाचन प्रकृयामा सहयोग गर्न सबै राजनैतिक पार्टीहरूसँग आग्रह गरे । अधिकृत निरौलाले निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना हुनु पर्नेमा जोड दिए । निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन राजनैतिक पार्टीहरूको अहम् भूमिका रहने हुँदा पार्टी प्रमुख तथा प्रतिनिधिहरूसँग सहजीकरणको भूमिकाको अपेक्षासमेत गरे ।

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले निर्वाचन सम्पन्न गर्नमा आफूहरूको समन्वयात्मक भूमिका रहने बताए ।
उक्त कार्यक्रममा नगरका राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा अङ्गका प्रमुखहरूको सहभागिता रहेको थियो ।

सर्वदलीय बैठकमा साना दलले निर्वाचन आचार संहिताको पालनामा कडाइका साथै उमेद्वारको शैक्षिक योग्यताका बारेमा प्रश्न उठाएका थिए । उमेद्वारी मनोनयनलाई व्यवस्थित गर्न निर्वाचन कार्यालयले ११ र १२ गते दुई दिनलाई पालो निर्धारण गरेको सहायक निर्वाचन अधिकृत महेन्द्र खड्का बताउँछन् ।

उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख खगेन्द्र धमला र सशस्त्र प्रहरी बलका बाहुनी प्रमुख ज्ञानबहादुर श्रेष्ठले सुरक्षा संवेदनशीलता र त्यसमा राजनैतिक पार्टीहरूको भूमिकाको बारेमा प्रस्ट पारेका थिए । निर्वाचन प्रचार प्रसार तथा मत गणनाको समयमा हुने हुने सम्भावित दुर्घटनातर्फ सचेत हुनु पर्ने कुरामा उनीहरूको जोड रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्