नगरप्रमुख ढकालले पत्रकार सम्मेलन गरेर भने ‘मेरो कार्यकाल सफल रह्यो’


सुन्दरहरैँचा, १० वैशाख । सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले आफ्नो पाँच वर्षे कार्यकाल पूर्ण रूपमा सफल भएको बताएका छन् । नगरप्रमुख ढकालले आज (शनिवार) आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।

नगरप्रमुख ढकालले आफ्नो कार्यकाल पूर्ण रूपमा सफल भएको बताउँदै यस अवधिमा सम्पन्न योजनाहरूको फेहरिस्तासमेत प्रस्तुत गरेका छन् । यस अवधिमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका कामहरू उनले सार्वजनिक गरेका छन् ।

आफ्नो ५ वर्षे कार्यकालमा कुनै नगर सभा सदस्य तथा कार्यपालिका सदस्यले असहमति जनाई नोट अफ डिसेन्ट लेख्ने अवस्था नआएको, आफूले सबै पक्षसँग समन्वयकारी भूमिका निभाएर काम गरेको उनको भनाइ थियो । साथै यस क्रममा आफूले जिम्मेवारी पूरा गर्ने क्रममा कसैसँग पनि आग्रह– पूर्वाग्रह नराखी काम गरेको पनि उनको दाबी रहेको थियो ।

नगरप्रमुख ढकालले चुनावताका गरिएका घोषणापत्रका ६४ बुँदामध्ये ४९ बुँदा कार्यान्वयनमा आएको र केही बुँदा प्राविधिक कारणले कार्यान्वयनमा समस्या भएको जनाउँदै बाँकी कामलाई पनि पूर्णता दिनमा आफ्नो सहयोग रहने प्रतिविद्धतासमेत जायर गरे ।

नगरप्रमुख ढकालले ३५ बेड क्षमताको नगर अस्पताल सञ्चालन भएको, ४ वटा वडा कार्यालयको भवन निर्माण हुनु, ५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनु, प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास हुनु, १ नम्बर प्रदेश प्रहरी तालीम निर्माणका लागि पहल गर्नु आफ्नो पाँच वर्षे कार्यकालका महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठ गाउँमा ल्याउन समन्वय गर्नु, सुविधा सम्पन्न कृषि बजार भवन निर्माणका लागि शिलान्यास हुनु, कोल्ड स्टोर भवन निर्माणका लागि भवनको शिलान्यास हुनु आदिलाई नगरप्रमुख ढकालले आफ्नो कार्यकालका महत्त्वपूर्ण उपलब्धि मानेका छन् ।

साथै सामाजिक विकासअन्तर्गत पर्ने सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच भएको, कोभिड सङ्क्रमणको महामारीको समयमा सङ्क्रमितलाई घरमै औषधी पुर्‍याएको, अक्सिजनको अभाव हुन नदिएको, अस्पताल भर्नामा समन्वय गरी औषधोपचारमा कमी हुन नदिएको उनले बताए ।

पछिल्लो ५ वर्षको अवधिमा १७७ किलोमिटर बाटोमा पेवल्स बिछ्याउने वा कालोपत्रे गर्ने काम भएको, १५३ किलोमिटर सडक एजिङ भएको तथा १३ किलोमिटर पक्की ड्रेन निर्माण भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्