डा. भट्टराईले दर्ता गराए सुन्दरहरैँचामा आफ्नो मनोनयन 


सुन्दरहरैँचा, ११ वैशाख । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि वैशाख ११ र १२ गते उमेद्वारले मनोनयन दर्ता गर्ने कार्यसूची तोकेको छ । यसै क्रममा सुन्दरहरैंचाको मेयर पदको लागि स्वतन्त्र उमेद्वार डा. प्रकाश भट्टराईले पहिलो उमेद्वारी दर्ता गरेका छन् ।

आफ्ना प्रतिबद्धतासहित २ साता अघि नै आफ्नो उमेद्वारी घोषणा गरेर चुनावी अभियानको थालनी गरेका भट्टराईले आज बिहान निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैँचामा ११ बजेर ५० मिनेटमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका लागि उनी साढे १० बजे नै निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैँचामा पुगेका थिए ।

स्थानीय निर्वाचनको लागि सुन्दरहरैँचा नगरपालिकामा पहिलो नम्बरमा मनोनयन दर्ता गरेका भट्टराईको प्रस्तावकमा कृष्णप्रसाद खतिवडा र समर्थकमा बलबहादुर कार्की रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
अन्य ठूला दलले भने भोलि १२ गते मात्र मनोनयन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्