बेलबारीमा खम्बुवान र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मात्र उमेद्वारी दर्ता


बेलबारी, ११ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि बेलबारीमा खम्बुवान र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मात्र उमेद्वारी दर्ता गराएका छन् । निर्वाचन आयोगको कार्यसूचीमा परेको पहिलो दिन यी दुई पार्टीले मात्र आफ्नो उमेद्वारी दर्ता गरेका हुन् ।

बेलबारी नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खम्बुआन राष्ट्रिय मोर्चाले १० बजे पहिलो उमेद्वारी दर्ता गरेका थिए भने त्यसको केही समय पछि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफ्नो उमेद्वारी दर्ता गरायो ।

खम्बुआनबाट बेलबारी –११ का रणेन्द्र थिमराहाङ राईले नगर प्रमुखमा र बेलबारी –२ का राजुदेव राईले वडा सदस्य पदमा उमेद्वार दिए ।
उता सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बेलबारी नगरपालिका वडा नं –२ र वडा नं ११ का लागि उमेद्वारी दिएको छ ।

निर्वाचन अधिकृत बालकृष्ण निरौलाले आज पहिलो दिन खम्बुआन राष्ट्रिय मोर्चा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मन्चका उमेद्वारले आफ्नो उमेद्वारी दर्ता गराएको र बाँकी राजनैतिक पार्टीहरूले भोलि दर्ता गर्ने बताए ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २ नं वडामा पुरै प्यानल र वडा नं ११ मा एक जना अध्यक्ष गरी ६ जनाले उमेद्वारी दर्ता गराएका छन् । बेलबारी नगरपालिका वडा नं २ को वडाध्यक्षमा बमबहादुर मेनेङ्वो, सदस्यहरू गोपाल बराइली, कुमारी लिम्बू, शावित्रा लिम्बू र मार्था सेन्चुरी रहेका छन् भने वडा नं– ११ को अध्यक्षमा मङ्गलसिङ धिमालले उमेद्वारी लिएका छन् ।

निर्वाचन आयोगले सहजताका लागि भनेर उमेद्वारी दर्ताका लागि पालोको निर्धारण गरेको थियो तर आजको पालोमा परेको जनता समाजवादी पार्टी नेपालले भने गठबन्धनमा छलफल नटुङ्गिएकाले मनोनयन दर्ता गर्न सकेन ।

आवश्यक कागजात पूरा गरेर आउन निर्वाचन कार्यालयको आग्रह

उमेद्वारी दिन निर्वाचन आयोगको कार्यालयमा आउने उमेद्वारले आवश्यक कागजात पुरा नगरी दर्ता प्रक्रियामा आउँदा लामो समय लाग्ने गरेको, त्यतिकै असहज पनि देखिने भन्दै आवश्यक कागजात पुरा गरेर मात्र आउन आग्रह गरेको छ ।

बेलबारी नगरपालिकाका सूचना अधिकारी तथा सहायक निर्वाचन अधिकृत महेन्द्र खड्काले उमेद्वारले आवश्यक कागजात पुरा नगरी दर्ता प्रक्रियामा आउँदा लामो समय लाग्दा केही असहज हुने देखिएकोले सम्पूर्ण राजनैतिक पार्टीलाई आवश्यक कागजात पुरा गरेर मात्र दर्ता प्रक्रियामा आउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्