बेलबारीमा १० वटा दलले गरे उमेद्वारी दर्ता  : तीन जनाले दिए बागी उमेद्वारी


बेलबारी, १३ वैशाख । स्थानीय निर्वाचनका लागि उमेद्वारी मनोनयन गर्ने काम आज (सोमवार) सम्पन्न भएको छ । निर्वाचन आयोगले मनोनयनका लागि दिएको दुई दिनको समय सीमामा राजनैतिक पार्टी तथा स्वतन्त्र रूपमा उमेद्वारी दिएका हुन् ।

यस क्रममा बेलबारी नगरपालिकामा आज (सोमबार) नेपाली काँग्रेस, एमालेसहित विभिन्न ७ वटा दलले उमेद्वारी दर्ता गरेका छन् ।

आज (सोमवार) उमेद्वारी दर्ता गर्ने पार्टीहरूमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी नेपाल, एकीकृत समाजवादी, राप्रपा र राष्ट्रिय जनमुक्ति पार्टीले उमेद्वारी दर्ता गरेका हुन् ।

त्यस्तै खम्बुवान, सङ्घीय लिम्बुवान लोकतान्त्रिक मञ्च र मङ्गाल नेशनल अर्गनाईजेसनले आइतवार नै उमेद्वारी दर्ता गरेका थिए ।
सातवटै दलले आज बेलबारीस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उमेद्वारी दर्ता गरेका थिए । नेकपा एमाले उमेद्वारी दर्ता गर्न १२ः३० मा निर्वाचन कार्यालय पुगेको थियो भने काँग्रेस ३ः३० मा र अन्य दलहरू भने केही ढिलो मात्र आयोगमा मनोनयन गर्न पुगेका थिए ।

एमालेबाट नगर प्रमुखमा डिपी राई र उपप्रमुखमा तिला गौतमले उमेद्वारी दर्ता गरेका छन् भने नेपाली काँग्रेसबाट महेन्द्र सुवेदी र नीतु थापा कोइरालाको उमेद्वारी दर्ता भएको छ । त्यस्तै माओवादी केन्द्रबाट नगेन्द्र खड्का र मन्दिरा थापाको उमेद्वारी दर्ता भएको छ भने जनता समाजवादीबाट प्रमुखमा मिनु राई र उपप्रमुखमा अमिर मगरको उमेद्वारी परेको छ ।
नेकपा एकीकृत समाजवादीबाट नगरप्रमुखमा भूपाल बस्नेत र उपप्रमुखमा शान्ता काफ्लेले उमेद्वारी दर्ता भएको छ । त्यस्तै राप्रपाबाट नगर प्रमुखमा खेम गौतम र उपप्रमुख पार्वता पौडेलीको उमेद्वारी परेको छ ।

सत्ताधारी दलबिच गठबन्धन गरिने भनिए पनि बेलबारीमा सबै पार्टीले आ–आफ्नो उमेद्वारी दर्ता गरेका छन् । तर अहिले मनोनयन आ–आफ्नै तरिकाले गरे पछि सहमतिको ढोका भने खुल्लै रहेको बताइएको छ ।

बेलबारीमा ३ जनाको पर्‍यो बागी उमेद्वारी

बेलबारी नगरपालिकामा १ जना उपप्रमुख र दुई जना वडाध्यक्षको बागी उमेद्वारी परेको छ । बेलबारी ३ की रुक्मिणी धिमालले उपप्रमुखमा स्वतन्त्र उमेद्वारी दर्ता गराएकी छन् । उनी नेपाली काँग्रेसकी महासमिति सदस्य हुन् । धिमालको नाम नेपाल काँग्रेसबाट उपप्रमुखमा सिफारिसमा परेको थियो । अन्त्यमा आएर आफ्नो नाम नपरे पछि उनले असन्तुष्टि जनाउँदै उपप्रमुखमा उमेद्वारी दिएकी छन् ।

त्यस्तै बेलबारी ८ का धनपति गौतम र बेलबारी ९ का तीर्थबहादुर ढकालले पार्टीबाट असन्तुष्टि जनाउँदै वडाध्यक्षमा स्वतन्त्र रूपमा उमेद्वारी दिएका छन् ।

वडा नं ८ को अध्यक्षमा उमेद्वार दिने गौतम नेपाल काँग्रेस निकट हुन् भने ढकाल माओवादी केन्द्रका वडा नं ९ का इन्चार्ज समेत हुन् । निवर्तमान वडा अध्यक्षसमेत रहेका गौतम वडामा आफ्नो लोकप्रियता रहेकोले स्वतन्त्र रूपमै पनि जितेर देखाउने बताउँछन् । उता वडा नं ९ मा स्वतन्त्र रूपमा अध्यक्षमा उमेद्वारी दिएका ढकालको पनि दाबी उस्तै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्