मनोनयन दर्ताकै दिन धरान काँग्रेसका दुई वडाध्यक्ष राप्रपामा प्रवेशसँगै अध्यक्षमा मनोनयन दर्ता


धरान, १३ वैशाख । मनोनयन दर्ताको अन्तिम दिन वैशाख १२ गते नै नेपाली काँग्रेस धरानमा ठुलो झड्का लागेको छ । धरान–१४ नं. वडाबाट नेपाली काँग्रेसबाट सानदार मत ल्याएर विजयी बहालवाला वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले नेपाली काँग्रेस परित्याग गरी दर्जनौँ कार्यकर्तासहित राप्रपामा प्रवेश गर्नु भएको छ । यस्तै १ नं। वडाका वडाध्यक्ष रोशन अधिकारीसहित करिब दुई सय कार्यकर्ताहरू राप्रपामा प्रवेश गरेका छन् ।

काँग्रेसबाट फेरी वडाध्यक्षमा टिकट प्रायः निश्चित भएर सोमबार नै वडाध्यक्षबाट राजीनामा दिनु भएका भट्टराई र अधिकारीलाई एकाएक मङ्गलवार टिकट नदिए पछि काँग्रेस छाडेर राप्रपामा प्रवेश गर्नु भएको हो । उहाँहरूसहित वडाका दर्जनौँ कार्यकर्ताहरूले पार्टी छाडेका छन् । १४ नं। वडामा काँग्रेसले स्थानीय श्याम श्रेष्ठलाई टिकट दिएर पछि असन्तुष्ट पक्षले पार्टी छाडेका हुन् । १ नं. वडामा काँग्रेसबाट द्वारिका आचार्यलाई टिकट दिएको छ ।

धरान–१ वाट नगर सभा सदस्य विवेक प्रसाईँसहित नगर सदस्य तथा पार्टीका क्रियाशील सदस्यहरूले काँग्रेस छाडेर राप्रपा गएका छन् । करिब २ सय जना आफूसँगै राप्रपामा गएको रोशनले बताउनु भयो । उहाँहरू दुवैले पुन वडाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको छ ।

‘पार्टीले अन्याय ग¥यो । मेरो लोकप्रियता र विगतमा वडाध्यक्ष भएर गरेको कामको प्रभावले राप्रपाले पुन अध्यक्ष बनाउने प्रस्ताव ल्यायो । त्यही भएर हामी वडाका सबै काँग्रेसका साथीहरू राप्रपामा प्रवेश ग¥यौं ।’–फोन सम्पर्कमा भट्टराईले भन्नु भयो–‘एकिन संख्या हिसाब गर्न पाएको छैन । धेरै साथीहरू मसँग हुनुहुन्छ । मनोनयन दर्ता पछि हामी सबै साथीहरूसँग सल्लाह गरेर घोषणा कार्यक्रम गछौं ।’

यस्तै ६ नं. वडाबाट भूपेन्द्र भट्टराईले टिकट नपाए पछि स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । पार्टीले वडाध्यक्षमा कृष्णकुमार राईलाई टिकट दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्