‘दोस्रो खोर्साने महोत्सव’ मा आज कमल खत्री र द्रव्यको प्रमुख प्रस्तुति रहने


सुन्दरहरैँचा, १३ वैशाख । सुन्दररहैँचामा जारी ‘दोस्रो खोर्साने महोत्सव’ मा आज गायक कमल खत्रीको प्रमुख प्रस्तुति रहने भएको छ । खत्रीसँगै स्थानीय स्तरमा चर्चा पाएका द्रव्य ब्यान्डको पनि प्रस्तुति रहने छ ।

चैत ३० गते समुद्घाटन भएको महोत्सवको १० औँ दिन आज (मङ्गलवार) गायक तामाङको र द्रव्य ब्यान्डको प्रमुख प्रस्तुति रहने आयोजक संस्था सुन्दर खोर्साने युवा क्लबले जनाएको छ । स्थानीय कलाकारहरूको नृत्य पनि रहने आयोजकले जनाएको छ ।

आइतबार माइला नामले चर्चित विजय तामाङको प्रस्तुति रहेको थियो भने सोमबार एलिना चौहानको प्रस्तुति रहेको थियो । प्रमोद खरेल, लाहुरे जस्ता चर्चित राष्ट्रिय गायकहरूले महोत्सवमा प्रस्तुति दिइसकेका छन् ।

वैशाख १२ गते सम्पन्न हुने भनेको महोत्सवको अवधि दुई दिन थप गरेकोले १४ गते समापन कार्यक्रम गर्ने क्लबका सचिव मिलन तामाङले बताएका छन् । स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथमा खाद्य परिकारका साथै विभिन्न स्टलहरूसमेत रहने मेला संयोजक सोमराज गिरीले बताए ।

सुन्दर खोर्सानो क्लबका अध्यक्ष काजिहाङ लिम्बू, महोत्सवमा शान्ति सुरक्षाको राम्रो व्यवस्था गरिएकोले ढुक्क भएर आएर मेलाको रमाइलो लिन आग्रह गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्