‘मेयर उपमेयरसहित बेलबारीका सबै वडामा चुनाव जित्छौँ ‘ : ढाका कुमारी पराजुली


मौसम नेपाली –

बेलबारी, १४ वैशाख । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले मेयर, उपमेयरसहित बेलबारीका सबै वडामा चुनाव जित्ने दाबी गरेकी छिन । प्रचारप्रसारको सुरुवातसँगै पराजुलीले जितको दाबी गरेकी हुन । नेकपा एमाले बेलबारी नगरपालिका कमिटीले मङ्गलवार देखि घरदैलो कार्यक्रम सुरु गरेको छ । सोमबार पार्टीले सबै उम्मेदवारहरूको मनोनयन दर्ता गराएपछि घर दैलो कार्यक्रम सुरु गरेको हो ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सुदन चौहानले घरदैलो कार्यक्रमको पहिलो दिन बेलवारी नगरपालिका वडा ११ बाट मेयरका उम्मेदवार दिल प्रसाद राई र उपमेयरका उम्मेदवार तिलकुमारी न्यौपानेसहित वडा नं ११ का सबै उम्मेदवार सहितको कोणसभा साथै घरदैलो कार्यक्रम र मतदाता भेटघाट कार्यक्रम गरेको बताए । चौहानले भने, ‘पहिलो दिनमै सयौँको संख्यामा उत्साहजनक उपस्थिति रहेको थियो । जनताको घर घरमा हाम्रो एजेन्डासहित पुग्दैछौ । हाम्रो आगमनसँगै बेलबारीवासी उत्साहित छन् ।’

वडा नम्बर ११ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारहरू वडा अध्यक्ष पदमा यमबहादुर पोख्रेल (राजन) सदस्यहरू तारा सुन्दास, इन्द्र कुमार राई, रोमा कोइराला, नवराज बस्नेत रहेका छन् । कार्यकर्ताहरू तथा जनताहरूको उत्साहसँगै भएको घरदैलो कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य सुदन चौहान, राजकुमार बस्नेत, जिल्ला कमिटी सदस्य तारा पराजुली (ढाका), बेलबारी इन्चार्ज घनश्याम गौतम, पार्टी अध्यक्ष इरान राई, पार्टीका नेता कार्यकर्ता, युवा संघ, अनेम संघ लगायत मतदाताहरूको बाक्लो उपस्थिति रहेको थियो।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीले आफ्नो पार्टीले अगाडि सारेका उम्मेदवारहरू क्षमतावान, भिजनवाला र विकास प्रेमी र जनभावना बुझेका भएको र यस अघिको निर्वाचनमा घोषणा पत्रमा उल्लेख भएका शतप्रतिशत काम आफूहरूले सम्पन्न गरेकोले जनताप्रति एमाले र एमालेले चुनावी मैदानमा अघि सारेका जनप्रतिनिधिहरूप्रतिको थप विश्वास जागृत भएकोले यस पटकको स्थानीय निर्वाचनमा बेलबारीका ११ ओटै वडाहरूमा एमालेले विजय हासिल गर्नेमा आफूहरू ढुक्क रहेको बताइन्। ‘हामी थोरै बोल्छौ काम धेरै गर्छौ भन्ने कुरा हामीले गरेको कामको परिणामले देखाइसकेको छ, यसर्थ हामी यस पटक मेयर उपमेयरसहित बेलबारीका सबै वडामा चुनाव जित्छौँ  ।’ पराजुलीले भनिन्।

नेकपा एमाले बेलबारी नगरपालिका कमिटी अनुसार आज बेलबारी वडा नं. १० मा उमेद्वार सहित घरदैलो घरदैलो कार्यक्रम हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्