‘धरानमा एमालेको पुरानो विरासत वैशाख ३० पछि फर्किँदै छ’ : मेयरकी उम्मेद्वार भण्डारी


धरान, १५ वैशाख । पूर्वको सुन्दर पर्यटकीय सहर धरानको विकासको खाका कोर्दै समग्र धरानबासीको पक्षमा युवा जोस जाँगर र उत्साहकासाथ स्थानीय तहको चुनावी मैदानमा उत्रिएकी मञ्जु भण्डारी सुवेदी धराने जनताकालागि अपरिचित नाम होइन । उनलाई नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा धरान उपमहानगरका लागि मेयरको प्रत्याशीमा उठाएको छ । नेकपा एमालेले देशका ११ वटा उपमहानगर मध्य ४० वर्ष उमेर नकटेकी एक मात्र महिला उम्मेद्वार पनि भण्डारी नै हुन् ।

धराने जनतामाझ उनको लोकप्रियता झन् बढेको छ । राजनीतिमा होस वा जनप्रतिनिधिको रूपमा होस निर्णायक क्षमता प्रदर्शन गर्न खप्पिस भण्डारीसँग पाँच वर्ष उपमेयरको कार्यभार सम्हालेको बेजोड अनुभव छ । ०७४ को निर्वाचनमा स्वर्गीय तारा सुब्बासँगै लोकप्रिय मत लिएर विजयी भएकी भण्डारीसँग मेयर सुब्बाको निधनपछि करिब डेढ वर्षसम्म कार्यवाहक मेयर भएर धरानको समग्र विकास निर्माणमा सरिक भएको अनुभव पनि छ । नेकपा एमालेले उनको योग्यता, दक्षता, क्षमतालाई मध्यनजर गर्दै चुनावी मैदानमा उतारेको हो । ०७४ को स्थानीय निर्वाचनमा २१ हजार २५६ मत ल्याएर काँग्रेसकी श्यामा रेग्मीलाई ६ हजार ३३९ को मत अन्तरले हराउँदै विजयी भएकी थिइन् । एमालेले महिलालाई नेतृत्वमा पु¥याउनु पर्छ भन्ने मान्यताले उनलाई मेयरको टिकट दिए पछि धरानका आम जनतासँगै महिलाहरू खुशी भएर जिताउने अभियानमा लागेका छन् ।


स्कुले जीवनमै राजनीति तर्फ आकर्षित भएकी एमालेका मेयर उम्मेदवार भण्डारी ०५३ साल ताका १४ वर्षको किशोरी उमेरमै सुनसरीको इटहरीस्थित जनता मावि कक्षा ८ अध्ययन गर्दागर्दै अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य बनेपछि कम्यूनिष्ट राजनीतिमा प्रवेश गरेकी थिइन् । पिता रवीन्द्रप्रसाद भण्डारी र माता राधादेवी भण्डारीको सुपुत्रीको रूपमा २०३९ साउन २ गते जन्मेकी नेतृ भण्डारी भन्छिन्, ‘युवापुस्ताले राजनीति बुझ्नु पर्छ । राजनीतिबाटै यो मुलुकमा सरकार बन्ने हो । मैले पनि आफ्नो रुचि अनुसार कम्युनिष्ट राजनीतिको सिद्धान्त मन पराएर विद्यार्थी जीवनमा सक्रिय भएँ । यो सक्रियताकै कारण होला मलाई धराने जनताले ०७४ सालमा नेकपाको तर्फबाट उपमेयरमा भारी मतले विजय गराउनु भयो । उपप्रमुखको पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेँ ।

पाच वर्षको अवधिमा मैले आफ्नो पदीय दायित्व, जिम्मेवारीलाई इमान्दारीकासाथ पुरा गरेँ । यो अवधिमा १ वर्ष पुरा नहुँदै नगरप्रमुख तारा सुब्बाको दुखद निधन भयो । नगरपालिका अभिभावकविहीन भएको अवस्थामा मेरो जिम्मेवारी स्वाभाविक रूपमा चुनौतीकासाथ थपियो । मैले नगरपालिकालाई र सिङ्गो नगरलाई अभिभावक विहीन भएको महसुस हुन नदिई कार्यवाहक मेयरको रूपमा अभिभावकत्व प्रदान गरेँ । यो अवधि मेरो जीवनमा चुनौती मात्र होइन जिम्मेवारी वहनको अनुभव आर्जन र क्षमता विकासका दृष्टिकोणबाट कोशेढुंगा हुन पुग्यो ।’ उनकाअनुसार यही अवधिमा धरानलाई थप बुझ्ने, राज्य सञ्चालन प्रक्रियाका सन्दर्भमा गहिरो अध्ययन गर्ने, जनताको सबै खाले समस्यालाई सम्बोधन गर्ने प्रक्रियामा आफुलाई समर्पित गरेको र धरानको विकासकालागि नयाँ सोच निर्माण गर्न सकेको बताइन् । धरानका जनताले अपेक्षा गरेअनुसार काम गरेँ । मेरो उपमेयर कार्यकालमा गरेको काम भनेको पार्टीको नीति र सिद्धान्तको आधारमा स्व। मेयर तारा सुब्बाले र हामीले तय गरेको रोडम्याप अनुसार चलेका थियौँ ।’

भण्डारी अनेरास्ववियूूको मावि प्रारम्भिक सदस्य, कोषाध्यक्ष, अध्यक्ष हुँदै एसएलसी गरे पनि उच्च शिक्षा आर्जन गर्न जनता क्याम्पस इटहरीमा भर्ना भइन् । उनले क्याम्पसको अध्ययन सँगसँग कम्यूनिष्ट राजनीतिमा पनि सक्रिय भएकाले ०५६ सालमा सुनसरी २ नं। क्षेत्रीय कमिटी सचिव, ०५७ मा सुनसरी जिल्ला कमिटी सदस्य, सोही वर्ष जिल्ला कमिटी कोषाध्यक्ष, जिल्ला कमिटी सचिव, अनेरास्ववियूू कोशीअञ्चल महिला विभाग सदस्य हुँदै अनेरास्ववियूू कोशीअञ्चल कमिटी अध्यक्षको कार्यभार सम्हालिन् । उपमेयर भएकै समयमा नगरपालिका संघ नेपालको सचिवालय सदस्य समेत हुन पुगिन् । २०६४ साल वैशाखमा तत्कालीन धरान नगर इन्चार्ज मुरारी सुबेदीसँग सामाजिक रुपान्तरणकालागि जनवादी मञ्च विवाह गरेका भण्डारीले धरान उपमहानगरको उपमेयर भएपछि न्यायिक समितिको न्याय सम्पादन प्रवाहलाई चुस्त बनाएको, न्यायसम्पादनलाई छिटो, छरितो बनाउनेदेखि लिएर न्याय सम्पादन प्रक्रियामा जनताको पहुँच बढाएको बताइन् ।

प्रारम्भिक समयमा इटहरी केन्द्रित राजनीति गरे पनि ०६४ सालदेखि धरान केन्द्रित राजनीतिमा क्रियाशील भण्डारी पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह इन्चार्जको कार्यभार पनि सम्हाली रहेकी छन् । ०५८ सालको संकटकाल विरुद्धको संघर्षको नेतृत्व गर्दा अनेरास्ववियूूको कमिटी निर्माणका क्रममा सैनिकबाट गिरफ्तारी, प्रतिगमन विरुद्धको आन्दोलनमा २०६१ सालमा इटहरीबाट सैनिकहरूले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा परेको अनुभव पनि छ । त्यसो त तत्कालीन राजा ज्ञानेन्द्रले गराएको नगर निर्वाचन बहिष्कार गर्दा गिरफ्तारीमा परी १३ दिन सशस्त्र प्रहरी क्याम्प पकलीमा र २०६२/ ६३ को आन्दोलनका क्रममा इटहरी चौकबाट सेनाले गिरफ्तार गरी प्रहरी हिरासतमा परेको तितो अनुभव पनि उनीसँग छ ।

भण्डारी आफै पनि सामाजिक तथा विकास अभियानकर्ता हुन् । मानवअधिकार रेडियो श्रोताक्लवको जिल्ला अभियन्तादेखि मानवअधिकार तथा द्वन्द्व रूपान्तरणका लागि अभियान, द्वन्द्व व्यवस्थापनकालागि सञ्चालित वारुदि सुुरुंग प्रतिबन्ध अभियानको जिल्ला संयोजक, लैङ्गिक मैत्री योजना निर्माण र कार्यान्वयनको संयोजनकर्ता, रणनीतिक योजना तथा संस्थागत विकासका काममा उनले प्रत्यक्ष योगदान दिएकी छिन् । यसै गरी महिला हिंसा विरुद्ध सुनसरी जिल्ला स्तरमा निरन्तर क्रियाशीलता, महिला तथा वालिकाको न्यायमा पहूूँच परियोजना अन्तर्गत जिल्ला संयोजक, सुनसरी जिल्लामा महिलाहरुद्धारा सञ्चालित ५०औँ सहकारी संस्थाहरूको संस्थागत र व्यावसायिक योजना निर्माण साथै विकासको संयोजन, धरान नगर पालिकाको सामाजिक परिचालन समितिको सदस्य तथा नगरको २ वर्षको सामाजिक विकास कार्यक्रमको मूूल्यांकन समिति संयोजक, धरान उपमहानगर महिला सञ्जालको सदस्य तथा हाल उप सचिवको रूपमा उनले काम गरेको अनुभव छ ।

महिला हिंसा विरुद्ध पैरवीकर्तामात्र नभएर उनलाई नजिकबाट चिन्नेले सुनसरीमा विकासकालागि राजनीति गर्ने नेतृको रूपमा मात्र नचिनेर ऊर्जाशील विकास अभियानकर्मी तथा सृजनशील र संघर्षशील राजनीतिक नेतृको रूपमा पनि चिन्ने गरेका छन् । उनको कार्यकालमा संघीय सरकारका सरोकारवाला निकायहरू विकास साझेदार संस्थाहरूसँग ऐतिहासिक सम्बन्ध कायम भई धरानलाई राष्ट्रिय बजेट र कार्यक्रममा गौरव गर्न सकिने गरी जोडिएको छ । धरानको उपमेयर हुँदाको अनुभव साट्ने क्रममा उनी भन्छिन्, ‘संघीयतापछिको पहिलो स्थानीय तहको नेतृत्वमा प्रवेश गरिरहँदा स्थानीय तह संरचना विहीन थियो । त्यसकालागि हामीले संरचना निर्माण सम्पन्न गर्‍यौँ । धरानका ठुलठुला गौरवका आयोजना सुरु गर्‍यौँ । धरानमा भएको भानुचोक बसपार्कले धान्न सकिरहेको छैन । भानचोक बसपार्कको विकल्पमा तीनकुनेमा नेपालकै पहिलो स्मार्ट बसपार्क निर्माण गर्नेकामका थालनी गरेका छौँ । खानेपानी आयोजना टुंगो लागेको छ तर वितरण प्रणालीमा देखिएको केही त्रुटिलाई सुधार्ने पहल भइरहेको छ । प्रविधि र प्राविधिकसहित काम गर्न बाँकी छ । नगर गौरवका महत्त्वपूर्ण आयोजनाको रूपमा धरान उप महानगरपालिकाका फोहोर व्यवस्थापन गर्नमा अब्बल बनाउने प्रयास भइरहेको छ ।’

उनले खानेपानी आयोजना आफू नेतृत्वमा आउनुभन्दा अगाडि नै सन २०१२ बाटै सुरु भएकाले पूर्व सम्झौताअनुसार सन २०१९ मा सकिएको र यसलाई संस्थागत रूपमा विकास गर्न समय लाग्ने बताइन् । धरानमा खानेपानी अभाव नहुने म प्रतिबद्धता गर्दै उनले थप प्रोजेक्टका लागि पनि पहल कदमी गर्ने बताइन् । उनले ०७४ सालको चुनावमा मतदातासामु राखेका घोषणापत्र र प्रतिवद्धताहरु पूरा गरेको बताइन् । उनले भनिन्, ‘हामीले भनेका थियौँ, बसपार्क निर्माण गर्छौँ भनेर २५ प्रतिशत काम सम्पन्न भइसकेको छ र काम हुँदै छ । यसका लागि मेरै पहलमा केन्द्रीय सरकारसँग समन्वय भएर बजेट केन्द्रबाट पठाइएको छ । हामीले सुकुम्वासी व्यवस्थापनको विषयमा कुरा उठाएका थियौँ । पार्टीको आन्तरिक विवाद र त्यसपछि आएको फुटका कारण लालपुर्जा वितरण गर्न सम्भव भएको छैन । धरानका सुकुम्वासीका लागत तथ्याङ्क हामीले तयार गरेर राखेका छौँ। उहाँहरू कस्तो अवस्थामा हुनुहुन्छ र कस्तो जमिनमा बस्नुभएको छ भनेर हामीले तथ्याङ्क तयार गरेर घर नम्बर वितरण गरेका छौँ र घर नम्बरको आधारमा हामी लालपुर्जा वितरण गर्छौँ।’

उनले धरानको समृद्धि र विकासकालागि नगरको स्रोतमामात्र भर पर्न नसकिने भएकाले केन्द्रसम्म पहुँच पु¥याउन र समन्वय गर्न सक्ने हैसियत बनाएकाले त्यस्तै जनप्रतिनिधि धरानका मतदाताहरूले खोजिरहेका कारण आफूले बहुमतले एमालेको पुरानो विरासत फर्काउँदै विजय हासिल गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्