बेलबारी काँग्रेसद्वारा निर्वाचन घोषणा पत्र सार्वजनिक


बेलबारी, १९ वैशाख । नेपाली काँग्रेस नगर समिति बेलबारीले आगामी निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । बेलबारी १ मा रहेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले घोषणा पत्र सार्वजनिक गरेको हो ।

नेपाली काँग्रेसका महासमिति सदस्य एवम् मेयर पदका उमेद्वार महेन्द्र सुवेदीले यो घोषणा पत्रमा नगरपालिका विकासको समग्र खाका रहेको बताए । उनले गाउँ गाउँमा गएर जनतालाई पार्टीको घोषणा पत्र बुझाउने र विजयपश्चात् घोषणा पत्रअनुसार काम गर्ने प्रतिबद्धता जायर गरेका छन् ।

घोषणा पत्र सार्वजनिक करण कार्यक्रममा जिल्ला सभापति डिकबहादुर लिम्बू, महासमिति सदस्यहरू राजकुमार लिम्बू, नगेन्द्र जमरकट्टेल, मेयर, उपमेयर, वडा अध्यक्षका उमेद्वारहरु तथा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दिलीप गच्छदारले बाहिर हल्लामा आएजस्तो पार्टीमा मत भिन्नता नभएको, पार्टी एक ढिक्का भएर निर्वाचनमा जाने बताए ।

नगर सभापति छत्र लिम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव सन्तोष भट्टराईको रहेको थियो ।

घोषणा पत्रप्रति पत्रकारहरूको आपत्ति

नेपाली काँग्रेस नगर समिति बेलबारीले तयार पारेको निर्वाचन घोषणा पत्रका विषयलाई लिएर पत्रकारहरूले आपत्ति जनाएका छन् । १७ बुँदा र १२ पेजमा तयार पारिएको घोषणा पत्रमा कहिकतै पनि सञ्चारको बारेमा उल्लेख नगरिएकोमा पत्रकारहरूले आपत्ति जनाएका हुन् ।

नगर सभापति छत्र लिम्बूले यसमा कमी कमजोरी भएको बताउँदै, यसलाई परिमार्जन गर्ने बताए पनि लोकतन्त्रको वकालत गर्ने पार्टीको घोषणा पत्रका राज्यको चौथो अङ्गको बारेमा उल्लेख नहुनुलाई सामान्य गल्ती मान्य नसकिने पत्रकारहरूको मत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्