निर्वाचन आयोग बेलबारीद्वारा राजनैतिक पार्टीलाई ध्यानाकर्षण


बेलबारी, १९ वैशाख । निर्वाचन अधिकृतको कार्यालय बेलबारीले राजनीतिक पार्टीहरूलाई निर्वाचन आचार संहिताको पालनमा सचेत रहन निर्देशन दिएको छ । आज कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा निर्वाचन अधिकृत बालकृष्ण निरौलाले राजनैतिक पार्टीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

आचार संहिताको पालनामा कमी आएको गुनासो आए पछि निर्वाचन कार्यालय बेलबारीले राजनीति पार्टी तथा स्वतन्त्र उमेद्वारलाई बोलाएर आचारसंहिताको पालनामा कटिबद्ध रहन ध्यानाकर्षण गराएको हो ।

एउटा उमेद्वारले एउटा मात्र सवारीसाधन प्रयोग गर्न पाउने भए पनि पछिल्लो समय अत्याधिक रूपमा सवारीसाधनको प्रयोग भएको पाइएको छ । प्रचारप्रसारमा टिसर्ट, टोपीको प्रयोगमा कमी आए पनि झण्डा तथा माइकिङको प्रयोगमा भने कमी आउन सकेको छैन ।

विशेष गरेर ठूला राजनैतिक दलहरू नै आचारसंहिता तोड्न उद्यत देखिएका छन् । राजनैतिक पार्टीले अत्याधिक रूपमा गाडी, डिजेको प्रयोग गरिँदा निर्वाचन आचारसंहिताको पालना मात्र नभएर वातावरणीय प्रदूषणसमेत भएको जानकारहरू बताउँछन् ।

साथै निर्वाचनको प्रचार प्रसारमा बालबालिकासमेत प्रयोग भएको भन्दै निर्वाचन कार्यालयले अविलम्ब यस्ता कार्यक्रम रोक्न निर्देशन गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले आचार संहिता भनिए पनि यी विषय शान्ति सुरक्षासँग जोडिएको बताउँदै निर्वाचन आचार संहिताको पालनामा जोड दिएका थिए ।

साथै साना दलले भने आचार संहिताको कडाइमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्