‘मेरो विशेष जोड भनेको महिला शसक्तीकरणमा रहने छ’ : तिलकुमारी न्यौपाने


बेलबारी, २२ वैशाख । बेलबारी नगरपालिकामा उपप्रमुख पदका उमेद्वार तिलकुमारी न्यौपाने गौतम आफूले महिला सशक्तीकरणमा विशेष जोड दिने बताउँछिन् । नेकपा एमालेबाट नगर उपप्रमुख पदमा उमेद्वारी दिएकी गौतमले कोशी नेपाल मिडियासँगको भेटघाटमा यस्तो विचार व्यक्त गरेकी हुन् । २०२८ सालमा सङ्खुवासभाको फलाँटेमा पिता प्रभुराम न्यौपाने माता विष्णुमाका नऔँ सन्तानका रूपमा जन्मिएकी न्यौपाने विगत २०४९ सालदेखि बेलबारीमा स्थायी रूपमा बसोबास गर्दै आएकी छन् ।

शिक्षा शास्त्रमा स्नातकोत्तर गरेकी उनी व्यवस्थापन विषयमा पनि (विकम) स्नातक हुन् । उमेद्वारी दिनुभन्दा अघि उनी बेलबारी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि नै प्राध्यापनरत रहँदै आएकी थिइन् । विद्यार्थी राजनीति हुँदै, २०५० सालपछि पार्टी राजनीतिमा प्रवेश गरेकी उनी गाउँ, क्षेत्र हुँदै जिल्ला कमिटीसम्म पुगेकी छन् । उनले पार्टीको भगिनी संस्था अमने सङ्घको गाउँ र क्षेत्र मासमेत रहेर काम गरेकी छन् ।

नेपाली साहित्यमा गीत गजल तथा हाइकुमा राम्रो दक्खल राख्ने उनले ‘पर्खालभित्र’ (हाइकु सङ्ग्रह), ‘चक्र व्यूहमा उभिएर’ (गजल सङ्ग्रह), ‘झ्याउँकिरी झङ्कृत’ (हाइकु सङ्ग्रह) लगायतका कृतिसमेत प्रकाशन गरिसकेकी छन् । जनसाहित्य मञ्चको तीन कार्यकाल सदस्य बनेर काम गरेकी उनले प्रगतिशील लेखक सङ्घ प्रदेश नं १ अध्यक्ष तथा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रहेर काम गरिरहेकी छन् ।

साथै विभिन्न सङ्घ संस्था तथा उपभोक्ता समितिमासमेत रहेर विकास निर्माणका कामलाई नजिकबाट नियालेकी उनी महिलालाई स्वरोजगारसँग जोड्नु पर्ने बिचार व्यक्त गर्छिन् ।

उनी भन्छिन् ‘स्वरोजगारले मात्र महिलालाई सबल बनाउँछ भन्ने मेरो बुझाइ रहेको छ । तसर्थ म मेरो कार्यकालमा स्वरोजगारलाई विशेष जोड दिनेछु ।’ स्वास्थ्य, शिक्षाका साथै उनीहरूको रोजगारी कोसमेत ग्यारेन्टी गरिनु पर्ने उनको मत रहेको छ । न्यायमा सर्वसुलभता, सुशासन, र संस्कारसहितको शिक्षा आजको आवश्यकता रहेको बताउँनी उनी जनतामा सर्वसुलभ रूपमा न्यायको पहुँच पुर्याउने काममा आफू क्रियाशील रहने बताउँछिन् ।

आधारभूत जनताका सुख दुःखलाई नजिकबाट नियालेकी उनी विजयी पश्चात् तिनै जनताका पक्षमा काम गर्ने योजना सुनाउँछिन् । उनी ‘भन्छिन् मैले गरिब तथा विपन्न जनताका दुःख सुखलाई नजिकबाट नियाल्न पाएकी छु । तसर्थ मेरो जोड पनि तिनै आधारभूत जनताको पक्षमा काम गर्नु रहने छ ।’

प्रतिक्रिया दिनुहोस्