नेकपा एमाले बेलबारीको निर्वाचन घोषणा पत्र सार्वजनिक : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा जोड


बेलबारी, २१ वैशाख । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले बेलबारी नगर कमिटीले घोषणा पत्र सार्वजनिक गरेको छ । आज (बुधवार) पार्टी कार्यालय बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीले घोषणा पत्रको सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा मेयर पदका उमेद्वार डिपी राईले आगामी कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटनलाई विशेष जोड दिइने बताए । लामो समयसम्म शिक्षाको क्षेत्रसँग आबद्ध रहेका राईले शिक्षाको विकासविना अरू विकास फिका हुने बताउँदै आफू नेतृत्वको टिमले गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिने उद्घोष गरे ।

भौतिक पूर्वाधारका साथै बेलबारीको पर्यटन, कृषिलाई प्राथमिकतामा राखेर काम गरिने बताउँदै उनी अबको पाँच वर्षमा आधारशिला खडा गर्ने र अर्को पाँच वर्षमा ती काम पूरा गर्ने बताउँछन् । उपप्रमुखका उमेद्वार तिलकुमार न्यौपाने गौतमले धेरै चुनौती रहे पनि आफूहरू ती चुनौतीलाई अवसरका रूपमा बदल्ने बताइन् । महिला दिदीबहिनीका समस्यालाई समाधान गर्न आफू कटिबद्ध रहेको बताउँदै कानुनले दिएको जिम्मेवारी पूरा गर्न आफू लागि पर्ने बताइन् ।

साहित्यकारसमेत रहेकी गौतमले बेलबारीको कला साहित्यलाई अझ माथि पुर्याउने उनको प्रतिबद्धता रहेको छ । उनी आफूहरू थोरै बोल्ने तर धेरै काम गर्ने बताउँछिन् । नेकपा एमालेको नेतृत्वमा रहेको हालको स्थानीय सरकारको कामको समीक्षा नगरिएको, यस अघि भएका प्राप्तिलाई घोषणा पत्रमा उल्लेख नगरिएको, सञ्चार क्षेत्रको विकासलाई कम महत्त्व दिइएकोमा सञ्चार कर्मीहरूको आपत्ति रहेको थियो । ३३ बुँदामा विभाजन गरिएको ९६ पृष्ठमा रचिएको घोषणा पत्रमा नगर तथा वडागत प्रतिविद्धतासमेत उल्लेख गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्यहरू मधु गुरुङ, नन्दराज गिरी, राजकुमार बस्नेत, बेलबारी नगर इन्चार्ज घनश्याम गौतम तथा ११ वटै वडाका वडा अध्यक्षका उमेद्वारहरूको उपस्थिति रहेको थियो । सञ्चार कर्मीहरूको जिज्ञासाको जवाफ उमेद्वारका तर्फबाट मेयर र उपमेयरका उमेद्वारले दिएका थिए भने पार्टीको तर्फबाट भने नगर कमिटी अध्यक्ष इरान थप प्रस्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्