सुन्दरहरैँचामा फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि


सुन्दरहरैँचा, २२ वैशाख । मोरङको सुन्दरहरैँचामा फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । डिस्पोजल गर्ने क्रममा उक्त वस्तु बम नभएको पुष्टि भएको हो ।

सुुन्दरहैँचा ११ का स्थानीय जीवनाथ ढकालको घर नजिकै शङ्कास्पद वस्तु फेला परेको थियो । घरनजिकै प्रेसर कुकरलाई कागजले बेरेर बाहिर तार निकालेर राखिएको अवस्थामा फेला परेको थियो । यस्तो बस्तु फेला परे पछि ढकाल परिवार मात्र नभएर पुरै गाउँ नै त्रसित भएको थियो ।

ढकाल नेकपा एमालेबाट सुन्दरहरैंचाको वडा नम्बर ११ मा वडा सदस्य पदमा उम्मेद्वारी दिएका व्यक्ति हुन् ।

३० वर्षदेखि सुन्दररहैँचा ११ शुक्रवारेमा स्थायी रूपमा बसोबास गर्दै आएका ढकालले आफूलाई त्रसित बनाउन घर नजिक त्यस्तो बस्तु राखिएको, तर आफू अझ निडर भएर निर्वाचनमा लाग्ने प्रतिक्रिया दिएका छन् ।

बिहान झिसमिसेमा भैँसी दुहुन जाने क्रममा परिवारका सदस्यले शङ्कास्पद वस्तु देखेर प्रहरीलाई जानकारी गराएका थिए । खबर पाउनसाथ इलाका प्रहरी कार्यालयका प्रमुख खगेन्द्र धमला नेतृत्वको टोलीले घटनास्थललाई सुरक्षा घेरामा राखेको थियो ।

शङ्कास्पद वस्तुमा तार जोडिएको र केही पर्चा पनि देखिएको स्थानीयले बताएका छन् । प्रहरीले उक्त वस्तु राख्ने व्यक्तिको खोजी कार्य भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्