बेलबारीमा राप्रपाको मेयर पदका उमेद्वारको गाडीमा आगजनी : एक जना पक्राउ


बेलबारी, २३ वैशाख । बेलबारीमा मेयर पदका उमेद्वारको व्यक्तिगत गाडीमा आगजनी भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेलबारी नगरपालिकाका मेयर पदका उमेद्वार खेमप्रसाद गौतमको निजी गाडीमा आगजनी भएको हो ।

गौतमको बेलबारी २ लालभित्तीमा रहेको निजी निवासमा राती पार्कगरिराखेको बा १२ च ९३८४ नं को कारमा आगजनी भएको हो । जक्सन होटेलका सञ्चालकसमेत रहेका गौतमका होटेलमा रहेको सिसी टिभी फुटेजमा राती १ : २३ मा पार्किङमा राखिएको गाडीमा पेट्रोल खन्याएर आगो लगाएको देखिन्छ । छिमेकीले आगो लागेको देखेर परिवारलाई खबर गरेका थिए ।

घटनामा संलग्न रहेको आशंकमा सुन्दरहरैँचा १२ का सुभाष पाण्डेलाई राती नै पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको बताइएको छ । आफ्नो लोकप्रियता देखेर विपक्षीद्वारा चालिएको षडयन्त्रपूर्वक योजना भएको, आफूलाई मार्ने अभिप्रायले आगजनी गरिएको मेयर पदका उमेद्वार गौतम बताउँछन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमला पक्राउ परेका व्यक्तिका बारेमा अनुसन्धान भइरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्