यतिखेर देशै एमालेमय भएको छ : केपी शर्मा ओली


सुन्दरहरैँचा, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशै यतिखेर एमालेमय भएको बताएका छन् । शनिवार मोरङको सुन्दरहरैँचामा नेकपा एमालेको सङ्घीय निर्वचन क्षेत्रीय कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो विचार व्यक्त गरेका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली आफू यतिखेर देशका विभिन्न स्थानमा भ्रमण रहेको बताउँदै यस क्रममा जनताले देखाएको उत्साहलाई हेर्दा देशै एमालेमय भएको महसुस गरेको बताए । एमालेबाट छुट्टिएर गएको एकीकृत समाजवादीप्रति लक्षित गर्दै ओलीले पार्टीबाट केही तत्त्व छुट्टिए पछि एमाले झनै बरमजवुत भएको बताए । एमालेले अरू पार्टीलाई वैशाख ३० देखाइदिने पनि उद्घोष गरे ।

पार्टीका नेता तथा कार्यकर्तालाई जनताका बिचमा पार्टीका उपलब्धिलाई लिएर जान आग्रह गरे । उनले भने “तपाईँहरू जनतासामु जाँदा पार्टीले गरेका उपलब्धिहरूलाई लिएर जानुहोस ।“ स्थानीय निर्वाचन मात्र नभएर प्रदेश तथा सङ्घीय निर्वाचनमा समेत एमाले विजय उत्साहजनक हुने बताए । देशैभर एमालेमा प्रवेश गर्ने लहर रहेकोले पनि त्यो सङ्केत दिएको उनको प्रतिक्रिया रहेको थियो ।

प्रचण्डले चितवनमा गरेको भाषणलाई इङ्गित गर्दै ओलीले डर धम्कीका भरमा भोट पाउने दिन नरहेको बताए । कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुतिसमेत रहेको थियो । कार्यक्रममा चारवटा पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको उपस्थिति रहेको थियो । सङ्घीय निर्वाचन क्षेत्रीय कमिटीका संयोजक भोला अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव भक्तकिरण राईको रहेको थियो ।

कार्यक्रममा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, शिवमाया तुमाहाम्फे, केन्द्री कमिटी नरेन्द्र श्रेष्ठ, युवराज वास्कोटा, प्रदेश कमिटी सदस्यहरू घनश्याम खतिवडा, राजकुमार ओझा, धना तामाङ लगायतको उपस्थिति रहेको थियो । ओलीले शनिवार नै इटहरी, धरान तथा विराटनगरका कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्