मेरो सामाजिक योगदानलाई हेरेरै नै जनताले भोट दिने छन् : नीतु थापा कोइराला


बेलबारी, २४ वैशाख । बेलबारी नगरपालिकामा उपप्रमुख पदमा उमेद्वार दिएकी नीतु थापा (कोइराला) यस अघि समाजमा पुर्याएको योगदानलाई हेरेरै जनताले आफूलाई भोट दिने बताउँछिन् । नेपाली काँग्रेसको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दिएकी कोइरालाले सञ्चारकर्मीसँग आफूले विगतमा गरेको सामाजिक योगदानले नै आफूलाई जिताउने प्रतिक्रिया दिएकी हुन् ।

सानैदेखि समाजसेवा र राजनीतिप्रति रुचि राख्ने थापाले समाजसेवाबाटै आफुलाई बेलबारीमा परिचित बनाएकी छन् । यही समाजसेवाले नै उनलाई जनतासामु जान सहयोग पुगेको उनेका प्रतिक्रिया रहेको छ । मोरङको तत्कालीन बेलबारी गाउँ विकास समिति हाल, बेलबारी नगरपालिका ३ मा २०३४ मा पिता टंकबहादुर र माता मायादेवी थापाको कोखबाट उनेका जन्म भएको हो । सानैदेखि गरिब तथा असहाय मानिसहरूको सेवामा रमाउने थापाले सानैदेखि आफूले सकेको सहयोग गर्न थालिन ।

भगवती माविबाट २०५० सालमा प्रवेशिका उर्तिण गरेकी उनले सुकुना बहुमुखी क्याम्पसबाट प्रमाण पत्र तह सम्मको अध्ययन गरेकी छन् । २०५५ सालमा बेलबारीमा शारदा चलचित्र मन्दिर सञ्चालन गरिरहेका सुनसरीका विकास कोइरालासँग विवाह बन्धनमा बाँधिएकी उनका हाल दुई छोराहरू छन् । समाजमा व्याप्त, कुरीति, कुसंस्कृतिका विरुद्ध आवाज उठाउने सोचका साथ बेलबारी १ मा श्रमिक महिला समूहको गठन गरेर श्रमिक महिलालाई आफ्नो हक हितका लागि जागुरुक मात्र बनाइनन् थापाले उनीहरूलाई स्वरोजगार तर्फ समेत अभिप्रेरित गरिन् । उनी आफू विगत लामो समयदेखि व्यवसायमै आबद्ध रहँदै आएकी छन् ।

बेलबारी १ मा उनेका चेली च्वाईस कलेक्सन नामको व्यवसाय सञ्चालनमा रहेको छ । श्रमिक महिला समूहले हरेक वर्ष महिलाहरूको क्षमता वृद्धि र दक्षताका लागि तालिम लगायतका विविध कार्यहरू गर्दै आएको छ । समाजसेवा लागेकी उनी नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नगर उपसभापतिको जिम्मेवारी बहन गरिरहेकी छन् । अहिले एउटा पार्टीबाट प्रतिनिधित्व गरे पनि विजय पश्चात् भने उनले आफू साझा व्यक्तिको रूपमा काम गर्ने प्रतिबद्धता जायर गरेकी छन् । उनी भन्छिन् “म अहिले निर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्दै छु । मलाई पार्टी प्रतिनिधि बनाएर पठाएको छ । तर निर्वाचित भए पछि म सबै नगरवासीको साझा व्यक्तिको रूपमा काम गर्नेछु ।“

प्रतिक्रिया दिनुहोस्