‘म वडाध्यक्षले पाउने सरकारी सुविधा लिन्न, जनताकै काममा लगाउँछु’ : मणिसुन्दर थापा


बेलबारी, २६ वैशाख । बेलबारी नगरपालिका वडा नं २ का वडा अध्यक्ष पदका उम्मेदवार मणिसुन्दर थापाले विजय पश्चात् वडा अध्यक्षको रूपमा पाउने सम्पूर्ण सुविधा नलिने बताएका छन् । नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका थापाले यस्तो प्रतिबद्धता जाएर गरेका हुन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा समेत वडा अध्यक्षका प्रत्याशी रहेका थापा झिनो मत पराजय व्यहोरेका थिए । तर उनी यस पटक भने जनताले आफूलाई विजयी गराउनेमा विश्वस्त देखिन्छन् । उनी भन्छन् , ‘अघिल्लो निर्वाचनमा झिनो मतले पराजय भएको थिएँ । तर अहिलेको अवस्था भने फरक छ । निर्वाचनमा पराजय भए पनि मैले जनताका दुःख सुखमा साथ दिएको छु । जनतामा पनि उत्साह देखिएको छ । यस पटक भने अवश्य पनि जित्ने छु ।’

जनताका सुख दुःखमा सँगै रहेर काम गरेकाले पनि यस पटकको निर्वाचनमा वडावासीले न्याय गर्ने उनको विश्वास रहेको छ । उनले वडा अध्यक्ष विजयी भए पश्चात् राज्यले दिने कुनै पनि सुविधा नलिने, सम्पूर्ण सुविधा वडाका गरिब तथा विपन्न जनताका सेवामा खर्च गर्ने बताएका छन् ।

भौतिक विकासलाई नियमित विकास भएको बताउँदै सामाजिक विकासमा जोड दिने, जनताको स्वास्थ्यमा सुधार गर्ने, गुणस्तरीय शिक्षामा विशेष जोड दिने, गरिब तथा विपन्न वडावासीलाई स्वास्थ्य बिमा तथा उनका सन्तानका लागि उच्च शिक्षाका लागि उच्च शिक्षा बचत योजनाूसमेत सञ्चालनमा ल्याउने योजना रहेको बताउँछन् ।

पछिल्लो समय स्थानीय सरकारमा बेथिति बढेको, आर्थिक अनुशासन नहुँदा भ्रष्ट्राचार मौलाएको उनको ठहर रहेको छ । उनी आफू पनि भ्रष्ट्राचार नगर्ने अरूलाई पनि भ्रष्ट्राचार गर्न नदिने बताउँछन् । ‘म आफू पनि भ्रष्ट्राचार गर्दिन अरूलाई पनि भ्रष्ट्राचार गर्न दिन्न ।’ वडा अध्यक्ष भए पछि आफू पार्टीगत राजनीतिभन्दा साझा व्यक्ति भएर वडाको सर्वाङ्गीण विकासमा लागि पर्ने बताउँछन् ।

नेपाली काँग्रेसका क्षेत्रीय सदस्यसमेत रहेका थापा वडा अध्यक्षको पदमा विजयी भए पछि भने सो पदबाट राजीनामा दिएर वडाकै विकासमा निरन्तर लाग्ने बताउँछन् । उनी भन्छन् ‘म अरूजस्तो पदमा लिप्त हुन्न । वडा अध्यक्ष भए पछि म राजनीतिलाई भन्दा बढी समय वडाको विकासमा लाग्नेछु ।’ साथै उनले वडा अध्यक्ष भएर आफूले कमाउने नभएर जनताको सेवा गर्ने धेय राखेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्