‘अबको जोड भनेको सामाजिक विकासमा रहने छ’ : उदयबहादुर राई


बेलबारी, २६ वैशाख । बेलबारी नगरपालिका वडा नं ६ का वडा अध्यक्षका उम्मेदवार उदयबहादुर राई अबको जोड भनेको सामाजिक विकासमा रहने बताउँछन् । निवर्तमान वडा अध्यक्षसमेत रहेका राईले कोसी नेपालसँग कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका छन् ।

जनताका घर दैलोमा व्यस्त रहेका राई जनताले सकारात्मक रूपमा लिएको बत्ताउँछन् । जनतासँग पहिलो कार्यकालको समीक्षा भइरहेको, जनताले आफूलाई थप एक कार्यकालमा वडा अध्यक्षका रूपमा देख्न चाहेको बताउँछन् । थुप्रै चुनौतीका बाबजुद पनि प्रतिबद्धता अनुसारका ९० प्रतिशत योजना पूरा गरेको र अब बाँकी योजना आगामी कार्यकालमा पूरा गर्ने उनेका योजना रहेको छ ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका उनी साबिकको कसेनी गाविसका सचिव, नगर सचिवालय सदस्य, साबिकको बेलबारी ११ को इन्चार्ज हुँदै हाल नेकपा एमालेको बेलबारी सह इन्चार्ज तथा जिल्ला सदस्यको भूमिकामा रहेका छन् । अबको कार्यकालमा सामाजिक विकासमा जोड रहने प्रतिबद्धता जनाउँदै शिक्षा, स्वास्थ्य तथा कृषिका लागि विशेष पहल गर्ने योजना सुनाउँछन् ।

श्रोत र साधनले गर्दा सबै काम गर्न नसकेको स्वीकार गर्दै राई रोजगारी सिर्जना गर्ने, एक घर एक उत्पादनको नीतिलाई अङ्गीकार गर्ने बताउँछन् । वडामा उपलब्ध भइरहेको स्वास्थ्य सेवामा थप गर्दै विशेषज्ञता सेवा उपलब्ध गराउने, स्वास्थ्य बिमालाई अनिवार्य गर्दै पार्टीले तयार पारेको घोषणा पत्रमा भएका कामलाई बढी जोड दिने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्