बेलबारीका दुई जना वडा अध्यक्षमा महिला उम्मेदवारहरू


बेलबारी, २६ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेलबारीबाट दुई जना महिलाहरू वडा अध्यक्षको रूपमा प्रतिस्पर्धामा रहेका छन् । यसरी वडा अध्यक्षमा उम्मेदवारी दिनेहरूमा बेलबारी २ की खिनमाया थापा र बेलबारी ७ की सुनिता चौधरी रहेका छन् ।

११ वडा वडा रहेको बेलबारीमा दुई वटा वडामा मात्र अध्यक्षको रूपमा महिलाको उम्मेदवारी परेको छ । थापा बेलबारी २ मा नेकपा एकीकृत समाजवादीबाट र चौधरीले नेकपा एमालेबाट बेलबारी ७ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । यी दुवै जनामा धेरै कुरामा समानता रहेको छ । यी दुवै जना निवर्तमान कार्यपालिका सदस्य हुन् । यी दुवै जना एउटै पार्टीबाट निर्वाचित भए पनि पछिल्लो समय भने फरक फरक पार्टीबाट उम्मेदवारी परेको छ ।

थापा नेकपा एकीकृत समाजवादीमा आबद्ध रहेकी छन् भने चौधरी नेकपा एमालेमा । यी दुवै जनाले आफूलाई गतिलो दाबेदारका रूपमा उभ्याउने गरेका छन् । एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी थापा अघिल्लो कार्यकालमा जनताका दुःख सुखमा साथ दिएकोले जनताले आफूलाई जनताले विजयी गराउनेमा ढुक्क छिन् भने उता चौधरीको दाबी पनि उस्तै रहेको छ ।

नेपाली काँग्रेसबाट वडा अध्यक्ष विजयी भएको वडामा चारै जना सदस्यहरू भने एमालेबाटै विजयी भएका, यो अवधिमा आफूहरूले जनप्रतिनिधि भएर गरेका कामले आफूलाई जनताले अनुमोदन गरेर पठाउने दाबी रहेको छ । आदिवासी जनजाति परिवारमा जन्मिएकी चौधरीले जनजाति बाहुल्यता क्षेत्र भएकोले पनि आफ्नो विजय पक्का भएको बताएकी छन् ।

उता थापा भने आफूलाई राजनीतिकर्मी भन्दा पनि सामाजिक अभियन्ता भन्न रुचाउँछिन् । सामाजिक क्षेत्रमा पुर्याएको योगदानले नै आगामी निर्वाचनमा आफ्नो जित पक्का भएको उनका दाबी रहेको छ । समाजसेवाबाटै राजनीतिमा प्रवेश गरेका यी दुवै जनाको राजनैतिक भविष्यको छिनोफानो भने ३० गते हुने निर्वाचनले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्