मतदातालाई ढुक्क भएर मतदानमा भाग लिन निर्वाचन आयोगको आग्रह


बेलबारी, २९ वैशाख । निर्वाचन अधिकृतको कार्यालय बेलबारीले आगामी ३० गते हुने स्थानीय तहको निर्वचनमा सम्पूर्ण मतदातालाई निर्धक्क भएर मतदानमा भाग लिन अनुरोध गरेको छ । निर्वाचन अधिकृत बालकृष्ण निरौलाले आज सम्चारकर्मीसँग कुरा गर्दै सुरक्षाका सम्पूर्ण संयन्त्र प्रयोग गरिएकोले मतदातालाई ढुक्क भएर मतदान केन्द्रमा जान अनुरोध गरेका हुन् ।

निर्वाचन अधिकृत निरौलाले निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको, निर्वाचन स्थलमा कर्मचारी खटाइएको बताएका छन् । उनले मतदान स्थलमा तीन वटै सुरक्षा निकायको परिचालन हुने हुँदा सुरक्षा व्यवस्था राम्रो भएको बताए । मतदाता लिस्टमा नाम भएका तर परिचय पत्र हराएकाले पनि मतदान गर्न पाउने तर परिचय खुल्ने प्रमाण पत्र पेस गर्नु पर्ने बताएका छन् । उनले भने “मतदाता लिस्टमा नाम भएका तर परिचय पत्र हराएकाले निर्वाचनमा भाग लिन पाउने छन् तर परिचय खुल्ने प्रमाण पत्र लिएर जानू पर्ने छ ।”

निर्वाचन अधिकृत निरौलाले सम्पूर्ण राजनैतिक पार्टीलाई मौन अवधिको पालना गर्न पनि आग्रह गरेका छन् । उनले एकाध घटनाबाहेक बेलबारीमा आचार संहिताको पालना कडाइका साथ पालना भएको पनि बताए । ३० गते अनुमति नलिएका सवारीसाधन चल्न नपाउने बताए तर अपाङ्ग, वृद्ध, अशक्तलाई पासको व्यवस्था गरिने बताए । तर उनीहरूका परिवारले आयोगमा निवेदन दिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्