१०३ वर्षीय पवित्रा अधिकारीद्वारा बेलबारीमा पहिलो मतदान


बेलबारी, ३० वैशाख । बेलबारीमा बिहान ७ बजे देखी मतदान सुरु भएको छ । बेलबारीमा ३ मा रहेको भगवती मा.वि मा मतदान ख केन्द्रबाट १०३ वर्षीय पवित्रा अधिकारीले पहिलो मतदान गरेर उद्घाटन भएको हो ।

बेलबारीका मेयर पदका प्रत्याशी महेन्द्र प्रसाद सुवेदी र डिपी राईले सोही केन्द्रबाट मतदान गरेका छन् । यस पटक मतदानलाई थप व्यवस्थित पारिएको छ । जेष्ठ नागरिक, अपाङ्ग, अशक्तलाई सहज रूपमा मतदान दिने व्यवस्था गरिएको छ ।

कतिपय मतदान स्थलमा बुथ र कर्मचारीलाई मात्र नभएर मतदातालाई समेत पालको व्यवस्था गरिएको छ । मतदान स्थलको सुरक्षा व्यवस्था मजबुत पारिएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारी प्रमुख खगेन्द्र धमलाले सुरक्षाका तीनै तहका सुरक्षा संयन्त्रको परिचालन भएको, पेट्रोलिङलाई नियमित गरिएको बताउँछन् । आज दिउसो ५ बजे सम्म मतदान हुने छ ।

प्रतिक्रिया दिनुहोस्